फ्रान्सबाट अाइपुग्याे निगमकाे अर्काे वाइडवडी जहाज

काठमाडाैं, १० साउन । नेपाल वायु सेवा निगमको अर्काे वाइड बडी विमान काठमाडाैं अाइपुगेकाे छ । यसअघि पनि अन्नपूर्ण नाम दिइएकाे वाइडवडी जहाज ल्याइएकाे थियाे । बिहीबार काठमाडाै विमानस्थलमा अवतरण गराइएकाे जहाजकाे नाम मकालु राखिएकाे छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले दोस्रो वाइड बडी जहाज भित्र्याएकाे हाे । बिहीबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएकाे याे जहाज फ्रान्सबाट ८ घण्टाको उडान तय गरेर काठमाडाैं आइपुगेको बताइएकाे छ । ‘नाइन एन एएलजेट’ कलसाइनको मकालु विमानमा १८ बिजनेस तथा २५६ साधारण गरी कुल २७४ सिट रहेको छ ।

नेपाल आइपुगेको एयर बसले तीन हप्ता भित्र उडान अनुमति पत्र, एओसी लिएर उडान सुरु गर्ने पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटाले जानकारी दिए ।

निगमले केही हप्ता अघि यस्तै वाइड बडी एयरबस अन्नपूर्ण ल्याएको थियो । फ्रान्सको एयरबसबाट २५ अर्बको लागतमा दुई एयर बस ल्याएको हो ।

दुवै विमानले अन्तर्राष्ट्रिय प्रचलन अनुसार सुरुको दुई महिना पुरानै गन्तव्य र त्यसपछि जापान, कोरिया तथा साउदी अरेबियामा उडान भर्ने निगमका प्रमुख सुगतरत्न कंशाकारले बताए ।

निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमान गएको असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगमको पहिलो वाइड बडी विमानले साउन १८ (अगष्ट १) देखि कतारको दोहामा व्यावसायिक उडान सुरु गर्ने तयारी छ ।

विमान उडाउनका लागि विदेशी पाइलट लिन उनीहरुको श्रम स्वीकृति अन्तिम चरणमा पुगेको निगमले जनाएको छ । तत्कालका लागि भने एयर बसकै पाइलटले उडाउने छन् ।

निगमसँग अब एयर बस ३३० दुई, एयर बस ३२० दुई तथा एउटा बोइङ्ग ७५७ रहेको छ । बोइङ्ग बेच्ने तयारी रहेको छ ।

Loading...