सुशीला कार्कीदेखि मनिषा कोइरालासम्म माइतीघरमा

काठमाडौं ।

अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न र उनको जीवन रक्षाका आज पनि काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ ।

सोलिडारिटी फर प्रो. डा केसीको आयोजनामा मध्यान्ह १२ बजेपछि माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी भएको आयोजकहरूले बताएका छन् । प्रदर्शनमा आम नागरिकहरुसँगै मानवअधिकारकर्मी, नागरिक अगुवाहरु, स्वास्थ्यकर्मीहरु लगायत सहभागी हुने जनाइएको छ ।

प्रदर्शनमा पूर्वप्रधानन्यायाधिशद्धय सुशीला कार्की, कल्याण श्रेष्ठ, पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा, माथेमा कार्यदलका संयोजक प्रा.डा. केदारभक्त माथेमा, नागरिक अगुवा कृष्ण पहाडी, नायिका मनिषा कोईराला, लेखक श्याम श्रेष्ठ, खगेन्द्र संग्रौलालगायत सहभागी हुने बताइएको छ।

२२ दिनदेखि अनसनरत त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीका माग पूरा गराउन सरकारलाई दवाव दिदै चिकित्सकहरुले हिजो प्रधानमन्त्री निवास अगाडि धर्ना दिएका थिए ।

डाक्टर सुमित पाण्डेको नेतृत्वमा गएको रेजिडेन्टस एसोसिएसन अफ न्याम्सका ४५ जनाको समूहले डा केसीका माग अविलम्ब पूरा गरी उहाँको जीवन रक्षा माग गरेको हो ।

प्रधानमन्त्री निवास अगाडि सो समूहले ‘डा. गोविन्द केसीका माग पूरा गर, दुई तिहाइ भन्दैमा जनता मार्न पाइँदैन, तिम्रो मार्सी भोजनले समाजवाद आउँदैन’ लगायत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

२०७५ साउन ५ मा प्रकाशित ।

Loading...