बामदेव गौतमले पूर्वएमालेका नेताहरूसँग बदला लिने !

काठमाडौं । 

दुई ठूला कम्युनिस्ट पार्टी मिलाउन भूमिका खेलेका नेता वामदेव गौतम अहिले मौन छन् ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा हालिमुहाली गर्न थालेपछि गौतम खुसी छैनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

उनले बेलाबेला असन्तुष्टिहरू पोख्ने गरेका छन् । गौतमले ओलीका क्रियाकलापलाई पनि रुचाएका छैनन् । मौका मिल्यो भने गौतमले ओलीसँग बदला लिने योजना बनाएको स्रोतको भनाई छ ।

कम्युनिस्टको सरकार भनेर प्रचार गरिएपनि चरित्र अनुसारको काम हुन नसकेको भन्दै उनले आलोचना गर्ने गरेका छन् । पार्टीका बैठक र गुटका भेलाहरूमा गौतमले ओलीले धोका दिएको गुनासो गर्ने गरेका छन् । स्रोतका अनुसार वरिष्ठ नेता बनेर हालिमुहाली गर्ने गौतमको योजनालाई ओलीले तुहाइदिएका थिए । पछिल्लो समय ओलीले गौतम र झलनाथ खनाललाई साइजमा राख्न वरिष्ठ नेता माधवकुमार नेपाललाई नजिक ल्याएका छन् ।

गौतमलाई सक्रिय राजनीतिबाट रोक्न प्रयास पनि भएको थियो । योगेश भट्टराईलगायतका केही नेताहरूले विधानमा उमेर हदको कुरा राख्न सुझाव दिएका थिए । तर, गौतमले कम्युनिस्ट पार्टीमा उमेर हद राखेर अवैज्ञानिक कुरा गर्न नहुने भनेर विरोध गरेका थिए । ‘योगेश भट्टराईलगायतले हैन, योगेश भट्टराई मात्रैले हो कुरा उठाएको । कुरा त उठाए बस्नेबेला मेरो मुखमा हेरे अनि टाउको निहुराए’, गौतमले प्रतिक्रिया दिने क्रममा भनेका छन् । तत्कालीन एमालेमा ७० वर्ष पुगेका नेताहरूलाई सक्रिय राजनीति गर्न बन्देज लगाइएको थियो । नेकपा गठन भएपछि यो प्रावधान हटेको छ ।

गौतमलाई राष्ट्रपति बनाउने हल्ला पनि चलेको थियो । तर, विद्यादेवी भण्डारीले गौतमलाई राष्ट्रपतिको बाटो छेकिदिएकी थिइन् । ‘म शान्तपूर्वक निस्क्रिय भएर, ठूलो महलभित्र, कैदी भएर बस्न म चाहन्न’, गौतमले भनेका थिए–‘किनकि त्यो कार्यकारी पोस्ट हैन । सम्मानित पोस्ट हो । त्यस्तो ठाउँमा बस्नको निम्ति अहिले जो राष्ट्रपति हुनुहुन्छ, उहाँहरूको निम्ति उपयुक्त हो ।’

ओली चीन भ्रमणमा जाने बेला गौतमलाई बेवास्ता गरिएको थियो । गौतमलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी नदिएर ओलीले माधवकुमार नेपाललाई दिएका थिए । त्यो कार्यबाट धेरैको मन दुखेको थियो । धोका पाएपनि ओलीलाई कुनै पनि सर्त राखेर आफूले साथ दिएको गोतमले बताउने गरेका छन् । ‘मैले निःस्वार्थ समर्थन गर्दागर्दै पनि उहाँले कतिपय कुरा भन्नु भयो । यसपछि तपाईं हो, यसपछि अब तपाईं हुने हो भन्नुभयो । तपाईंपछि बरु म यो हुने हो आदि जस्ता कुरा उहाँ आफैले भन्या हो’, गौतमले भनेका छन्–‘खासमा मैले गुट कहिलै चलाइनँ ।’

ओलीले रोजगारी सिर्जना गर्न नसकेको गौतमले आरोप लगाएका छन् । महँगी नियन्त्रण पनि गर्न नसकेको उनको भनाइ छ । सरकार शक्तिशाली भए पनि काम गर्न नसकेको आरोप गौतमले लगाएका छन् ।

२०७५ साउन ३ मा प्रकाशित ।

Loading...