जिप दुर्घटना हुँदा पत्रकार महासंघका पूर्वमहासचिव मगरसहित १४ घाइते

बागलुङ, ३ साउन । बागलुङको गलकोट नगरपालिका–११ रिघा भालुपाईलेमा बुधबार सॉझ जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

घाइते हुनेमा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव उजीर मगर समेत रहेका छन् । उनको अवस्था गम्भीर रहेको तर खतरामुक्त रहेकाे बताइएको छ । ढोरपाटन नगरपालिका–४ का उनीसँगै गम्भीर घाइते हुनेमा बडिगाड गाउँपालिका–५ की संगीता पुन, गल्कोट नगरपालिका–१० पाण्डवखानीका दिपक पुन र बडिगाड–९ का दिलेन्द्र बुढा मगर रहेका छन् । उनलार्इ धाैलागिरी अञ्चल अस्पतालमा उपचार पछि पाेखरा मणिपाल अस्पतालमा लगिएकाे प्रहरीले जनाएकाे छ । 

बागलुङ बजारदेखि बुर्तिवाङको लागि छुटेको ध १ज १४९ नम्बरको जीप अनियन्त्रीत भई नालीमा पल्टीदा सो दुर्घटना हुन पुगेको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी नायव निरीक्षक मन बहादुर बिकले जानकारी दिए ।

अन्य घाईतेमा बेनी नगरपालिका–३ की तिर्सना छन्त्याल, सोही स्थानीकी कल्पना छन्त्याल, बडिगाड गाउँपालिका–९ का सुमन बुढा मगर, काठेखोला गाउँपालिका–३ धम्जाका टिकाराम नेपाली, निसीखोला गाउँपालिका–४ का मकर थापा, कावासेती नगरपालिका १५ नवलपरासीका राजकुमार श्रेष्ठ, बडीगाड गाउँपालिका–३ का कृष्ण थापा, ढोरपाटन नगरपालिका–९ का मन्जु कार्की र उनकी छोरी रञ्जिता कार्की, बडिगाड गाउँपालिका–६ का लोकबहादुर खत्री रहेका छन् । उनीहरुको आरोग्य अस्पताल हटियामा उपचार भैरहेको बताइएको छ ।

Loading...