ओली सरकारले दियो सार्वजनिक विदाकै दिन ४ अर्बको भुक्तानी

काठमाडाैं, १ साउन । आर्थिक वर्षको अन्तिममा सरकारी ढुकुटीमा जिम्मेवार निकायहरूले मनोमानी खर्च गरिरहेका छन् । सार्वजनिक बिदाको दिनमै ४ अर्र्बको चेक काटेको पाइएको छ । सरकारी आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सार्वजनिक विदाको दिन अर्थात असार ३० गते शनिबारसमेत ४ अर्ब १३ करोड २२ लाख ५३ हजार पुँजीगत बजेटको चेक काटिएको छ ।

सरकारी ढुकुटीको रकम जसरी पनि खर्च गरेर उपलब्धिका रूपमा देखाउन जथाभावी रूपमा चेक काटिनुले सरकारको वित्तीय सुशासनको नारा र भूमिकामाथि नै गम्भीर प्रश्न उब्जिएको छ ।आर्थिक वर्ष सकिन एक दिनमात्र बाँकी रहँदा आइतबार एकैदिन साढे ३३ अर्ब रुपैयाँको चेक काटेको सरकारले विकास बजेटतर्फ २७ अर्ब ६२ करोड ६५ लाख २४ हजारको चेक काटेको छ ।

आर्थिक वर्षको अन्तिम महिनामा २० प्रतिशतभन्दा बढी बजेट खर्च नपाउने उक्त ब्यवस्थालाई लत्याउँदै एकै दिन ८.२४ प्रतिशत पुँजीगत बजेटको चेक काटेको छ । विकास निर्माणका काम गर्न अनुपयुक्त मानिने वर्षायाममा एकै दिन २७ अर्ब ६२ करोडको चेक काटिनुले ठूलो रकम हिनामिनाको आशंका गरिएको छ ।

आर्थिक कार्य व्यवस्था सम्बन्धी कानुन अनुसार आर्थिक वर्षको अन्तिम महिना अर्थात असारमा २० प्रतिशतभन्दा बढी बजेट खर्च गर्न पाईदैन । सरकारले एकै दिनमा २७ अर्वको चेक काटेसँगै पुँजीगत बजेटको खर्च ७६.१३ प्रतिशत पुगेको छ । यो खर्च सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत गरेको संशोधित खर्च अनुमानभन्दा बढी हो ।

सरकारले अर्धवार्षिक समीक्षामार्फत पुँजीगत बजेट ७१. २ प्रतिशत अर्थात २ खर्ब ३८ अर्ब ६४ करोड ५२ लाख रुपैयाँ मात्र खर्च हुने अनुमान गरेको थियो । तर आइतबारसम्म २ खर्ब ५५ अर्ब १५ करोड ९५ लाख रुपैयाँ पुँजीगत बजेट खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । सोमबार काटिएको चेकको विवरण आउन बाँकी रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

महालेखाको तथ्यांकअनुसार सरकारी निकायहरूले बिकास बजेट आर्थिक वर्षको ११ महिनासम्म दैनिक ४८ करोड रुपैयाँ मात्र खर्च गरेका थिए । पूर्व कायममुकायम महालेखा परिक्षक सुकदेव भट्टराई खत्रीले सरकारी निकायमा बजेट खर्च भएको देखाउन आर्थिक वर्षको अन्तिममा मोबिलाइजेसन पेश्की र मेसिनरी खरिद्का नाममा जथाभावीरूपमा चेक काट्ने प्रवृत्ति रहेको बताए ।

सरकारले चालू आवमा १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो । त्यसमध्ये चालूतर्फ ८ खर्ब ३ अर्ब, पुँजीगततर्फ ३ खर्ब ३५ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । विनियोजित बजेटमध्ये असार ३१ सम्ममा करिब ८३ प्रतिशत मात्र खर्च भएको छ । जसमा चालूतर्फ ८६ प्रतिशत, पूँजीगततर्फ ७६ र वित्तीय व्यवस्थापनतर्फ ७७ प्रतिशत खर्च भएको महालेखाको तथ्यांकमा उल्लेख छ ।

Loading...