गोरे सुन तस्करी प्रकरणका मुख्य योजनाकार : छानविन समिति

काठमाडौं, ३२ असार । सुन तस्करी र मोरङ उल्र्लाबारीका सनम शाक्यको हत्या प्रकरणका मुख्य योजनाकार गोरे भनिने चुडामणी उप्रेती नै रहेको निष्कर्ष सरकारले गठन गरेको विशेष छानविन समितिले निकालेको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले जुटेका प्रमाणका आधारमा थाई एयरलाइन्सका कर्मचारी सानु वनको दुर्घटना र नेपाल वायुसेवा निगमका कर्मचारी प्रेमनारायण चौधरीले प्रहरी हिरासतमै गरेको आत्महत्याका पछाडिको कारण समेत गोरे नै भएको निचोड निकालेको छ । गोरे समूहले ५ बर्षको अवधिमा हराएको भनिएको साढे ३३ किलो सुन सहित ४ हजार किलो सुनका मुख्य लगानीकर्ता एमके अग्रवाल, विमल पोद्दार, राजु द्वारका र भुजुङ गुरुङ रहको समितिले निष्कर्ष छ । अग्रवाल फरार छन् ।

गतबर्षको माघ पहिलो साता संयुक्त अरव इमिरेट्स यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको साढे ३३ किलो सुन गायब भएपछि गोरेसमूहले फागुन १८ गते शाक्यको हत्या गरेको थियो । समिति स्रोतका अनुसार आर्थिक लगानी गर्ने अरुपनि छन् तर सुन तस्करीको केन्द्रमा गोरे नै छन् । पौडेल नेतृत्वको ९ सदस्यीय टोलीले तस्करीको साढे ३३ किलो सुन कहाँ गयो भन्ने मुख्य प्रश्नको रहस्य भने सुल्झाउन सकेको छैन । छानविन समितिको म्याद आज मध्यरातिदेखि सकिदैछ ।

समितिका एक सदस्यले भने, ‘अहिले प्रतिवेदनलाई अन्तिमरुप दिने तयारीमा छौ । एक साताभित्रै सरकारलाई प्रतिवेदन बुझाउने तयारी छ ।’ प्रतिवेदनमा विमानस्थलबाट हुने सुन तस्करी रोक्न गर्नु पर्ने कामबारे पनि सरकारलाई सुझाव दिइने उनले बताए । एक सय दिनको अवधिमा समितिले सुनको अवैध कारोवार गरेको अभियोगमा ९ उच्च प्रहरी अधिकृतसहित ७५ जनालाई नियन्त्रणमा लिई प्रहरीलाई अनुसन्धानको जिम्मा दिएको छ ।

Loading...