पाँच महिनादेखि तलब नपाएपछि जाजरकोटका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिए

जाजरकोट । पाँच महिनादेखि तलव नपाएको भन्दै जाजरकोटको नलगाड नगरपालिका अन्तरगतका स्वास्थ्यका कर्मचारीहरुले बिहिबारदेखि सवै सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका छन् ।

स्वास्थ्यकर्मीहरु पटक–पटक नगरपालिकासँग तलव माग गर्दा पनि सम्बन्धित निकायबाट कुनै सुनुवाई नभएपछि आन्दोलन गर्नु परेको स्वास्थ्यका कर्मचारी बिजय चौधरीले बताए ।

स्वास्थ्य जस्तो सम्बेदनशील क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको तलव बाटो निमार्णमा खर्चिनु दुःखद भएको बताउदै चौधरीले केन्द्र सरकार र प्रदेश सरकार बेखवर हुनु दुःखद भएको भएको बताए । उनले आफ्नो तलव भत्ता स्वीकृत नभएसम्म स्वास्थ्य संस्थाहरु आकस्मिक सेवा बाहेक सबै सेवाहरु ठप्प रहने बताए ।

स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि उपचार सेवा प्रभावित भएको छ भने उपचारको लागि स्वास्थ्य संस्थामा आउने सयौ विरामी उपचार नपाएर फर्कन बाध्य भएका छन् ।

जाजरकोटको अतिबिकट मानिने नलगाड नगरपालिकाका अधिकाश वडाहरुमा यातायातको व्यवस्था नहुँदा बिरामीहरुलाई सास्ती भोग्नु परेको स्थानीयहरुले गुनासो गरेका छन् ।
महामारीको जोखिम रहेका बेला सरकारले स्वास्थ्यका कर्मचारीहरुलाई तलब नदिएर जनतालाई मार्ने खेल गरेको भगवतीका राम बहादुर घर्तिले बताए । उनले तत्काल कर्मचारीहरुलाई तलब दिएर काममा फर्किने वातावरण निमार्ण गर्न माग गर्नु भयो ।

Loading...