सप्तकोशीमा पानीको बहाव घट्यो, खतरा भने कायमै

सुनसरी । 

सप्तकोशी नदीमा पानीको बहाव केही घटेपनि खतरा भने कायमै रहेको छ । आइतबार सप्तकोशीमा पानीको वहाव यो बर्षकै उच्च प्रतिसेकेण्ड २ लाख २२ हजार ६ सय २५ क्युसेक रहेकोमा आज घटेर २ लाख ८ हजार ८ सय ६५ क्युसेक पुगेको छ ।

सप्तकोशीमा पानीको वहाव १ लाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ । आज ब्यारेजका ५६ मध्ये २६ वटा मात्र ढोका खोलिएको छ ।

जीर्ण बनेको सप्तकोशी ब्यारेजका सबै ढोका नखोलेपछि स्थानीय बासिन्दा त्रसित र असुरक्षित भएका छन् । ब्यारेजका सबै ढोका नखोलेकाले वराह क्षेत्र नगरपालिकाको श्रीलंका टापु पूरै डुबानमा परेको छ ।

कोशी ब्यारेजका ढोका थुनेर नेपालीलाई असुरक्षित बनाएको वराह क्षेत्र नगरपालिकाका मेयर नीलम खनालले बताए । सप्तकोशीमा पानीको बहाव उच्च भएपछि स्थानीय बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Loading...