फ्रान्सेली एमबाप्पेले पेलेको ६० वर्ष पुरानो कीर्तिमान भेटाए

काठमाडाैं । रसिया विश्वकपमा फ्रान्सका केइलिन एमबाप्पे विश्वकप फुटबलको फाइनलमा गोल गर्ने केवल दोस्रो किशोर खेलाडी बनेका छन्।

आइतबार राती फ्रान्सले क्रोएसियालाई ४-२ गोलले हराउँदा १९ वर्षीय एमबाप्पेले पनि गोल गरे । एमबाप्पे १९ वर्ष २०७ दिनका भएका छन ।  पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने उनी एकमात्र युवा खेलाडी हुन् । यसअघि सन् १९५८ को विश्वकपको फाइनलमा ब्राजिलका पेलेले किशोर उमेरमै गोल गरेका थिए।  सन् १९५८ को विश्वकपमा गोल गर्दा पेले १७ वर्ष २४९ दिनका थिए । त्यतिबेला ब्राजिल पनि विश्व विजेता बनेको थियो ।

एमबाप्पे विश्वकपको फाइनलमा खेल्ने केवल तेस्रो किशोर खेलाडी हुन्। पेलेपछि इटालीका जिउसेप्पी बर्गिनीले पनि यो सफलता हात पारेका थिए। बर्गिनीले सन् १९८२ को विश्वकप फाइनल खेल्दा इटाली पनि विजेता बनेको थियो। तर त्यस खेलमा बर्गिनीले गोल गर्न सकेका थिएनन्।

१९ वर्षीय एमबाप्पेले यस विश्वकपमा चार गोल गरे। उनले प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाविरुद्ध दुई गोल गरेका थिए। यसअघि उनले विश्वकपको एकै खेलमा दुई गोलको पेलेको रेकर्ड पनि बराबरी गरेका थिए । यसरी हेर्दा फ्रान्सको पेलेका उपनाम पाएका एम्बाप्पे साँच्चै पेलेलाई पछ्याइहेको देखिन्छ । उनले रुस विश्वकपकै उत्कृष्ट युवा खेलाडी समेत घोषित भएका छन् ।

Loading...