अन्ततः बीमा समितिका अध्यक्षको पद धरापमा, के हो कारण ?

काठमाडौं ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंको पद धरापमा परेको छ । संघीय संसद सचिवालयमा नयाँ बीमा ऐन विधयेक दर्ता भएसँगै अध्यक्ष चापागाँईको पद धरापमा परेको हो ।

संसद सचिवालयमा गत बिहीबार दर्ता भएको विधयेकमा बीमा समितिको नाम परिवर्तन गरी बीमा प्राधिकरण राखिने र हाल रहेको सञ्चालक समिति विघटन गरी नयाँ सञ्चालक समिति गठन गर्ने उल्लेख गरिएको छ ।

नयाँ बीमा ऐन जारी भएसँगै सरकारले नयाँ सञ्चालक समिति गठन गर्नुपर्ने भएपछि अध्यक्षको पद धरापमा परेको हो । नयाँ बीमा ऐन जारी भएपछि हाल रहेको बीमा समिति स्वतः बीमा प्राधिकरणमा रुपान्तरण हुने विधयेकमा उल्लेख गरिएको छ ।

बीमा समितिबाट भए गरेका कामहरु सबै प्राधिकरणबाट भएको मानिने विधयकमा उल्लेख भए पनि हाल भएको सञ्चालक समिति भने विघटन गरी नयाँ गठन गरिने उल्लेख गरिएको छ ।

तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको सिफारिसमा मन्त्रिपरिषदले चापागाईंलाई ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गरेको थियो । चापागाईं अध्यक्षमा नियुक्त भएको २ वर्ष पनि पुगेको छैन ।

यसैबीच नयाँ बीमा ऐनका लागि मस्यौदा सर्वप्रथम बीमा समितिले नै तयार पारेको थियो । बीमा समितिले तयार पारेको मस्यौदामा हाल रहेको कर्मचारी तथा सञ्चालक समिति यथावत रहने उल्लेख गरे पनि अर्थमन्त्रीको टेबलबाट त्यसलाई संशोधन गरिएको मन्त्रालय श्रोतले बतायो ।

२०७५ असार ३१ मा प्रकाशित ।

Loading...