श्रीमती पिडित श्रीमानलाई खुसीको खबर ! अब पुरुषले चाहे पनि सम्बन्ध विच्छेद

काठमाडौं ।

के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ?

यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले यस्तो व्यवस्था गरेको हो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । यो संहिता भदौ १ गतेबाट लागू हुँदै छ । परिच्छेद ३ मा सम्बन्ध विच्छेदसम्बन्धी व्यवस्था छ ।

समाचारमा लेखिएको छ, विद्यमान कानुन श्रीमानको हकमा त्यति लचक छैन । श्रीमतीले चाहेमात्र छिटो सम्बन्धविच्छेद हुनसक्छ ।

नयाँ कानुनमा पत्नीले अर्कै पुरुषसँग यौन सम्बन्ध राखेको ठहर भएमा सम्बन्ध विच्छेद गर्न सकिने प्रावधान राखिएको छ। समानताको हक जस्तै गरी पतिले अर्कै महिलासँग यौन सम्बन्ध राखेको ठहर भएमा पनि पत्नीले पतिसँग सम्बन्ध विच्छेद गर्न पाउने छिन्।

त्यसैगरी पतिले पत्नीलाई बलात्कार गरे पत्नीले सम्बन्ध विच्छेद गर्न पाउने छन्। तर पत्नीले पतिलाई जबर्जस्ती वा बलात्कारको कल्पना कानुनमा गरिएको छैन।

एउटा अर्को उदार व्यवस्था पनि गरिएको छ- पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन्।

त्यस्तै पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा पनि पतिले सम्बन्ध विच्छेद गर्न पाउने छन्। पतिले पनि पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा त्योभन्दा बढी समय अलग बसेमा सम्बन्ध विच्छेद गर्न पाउने छन्।

लामो समयदेखि विदेशमा बस्नेहरुले यो व्यवस्था लागू भए आफू विदेश जान पत्नी वा पतिको लिखित मञ्जुरी लिएर जानु ठीक हुनेछ। नत्र मेरो मञ्जुरी बिना गएको भनेर तीन वर्षपछि यता अर्कैसँग कामकुरो मिल्यो भने सम्बन्ध विच्छेद सहजै गर्न सकिन्छ।

पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा सम्बन्ध विच्छेद गर्न पाउने नयाँ प्रावधान थपिएको छ। अरु के के छ त विधेयकमा व्यवस्था ?

देवानी कानूनको संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्ध विच्छेद सम्बन्धी व्यवस्था
९३. दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सक्नेः पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन्।

९४. पतिले सम्बन्ध विच्छेद गर्न सक्नेः पतिले देहायका अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछ : –

(क) कानून बमोजिम अंश लिई वा मानो छुटिृई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,

(ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,

(ग) पत्नीले पतिको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, वा

(घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा।

९५. पत्नीले सम्बन्ध विच्छेद गर्न सक्नेः पत्नीले देहायका अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्नेछिन्ः–

(क) कानून बमोजिम अंश लिई वा मानो छुटिृई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,

(ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,

(ग) पतिले पत्नीको अङ्ग भङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,

(घ) पतिले अर्को विवाह गरेमा,

(ङ) पतिले अन्य स्त्रीसँग यौन सम्बन्ध राखेको ठहरेमा,

(च) पतिले पत्नीलाई जर्वजस्ती करणी गरेको ठहरेमा।

२०७५ असार ३१ मा प्रकाशित ।

Loading...