कांग्रेस नेताले मार्क्सवाद पढाएर १० हजार कम्युनिस्ट तयार पार्ने

काठमाडौं, ३१ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालका नेता–कार्यकर्ता अहिले मार्क्सवाद सिक्न व्यस्त छन् । कम्युनिस्ट नेता–कार्यकर्तालाई मार्क्सवादबारे प्रशिक्षण दिन माक्र्सवादको ज्ञान भएका विद्वान्हरू देश दौडाहमा निस्किएका छन् । झापा, धुलिखेल र नेपालगन्जमा प्रशिक्षण सकिसकेको छ । प्रदेश र जिल्लाहरूमा दर्जनौँ प्रशिक्षण कार्यक्रम राख्ने एकवर्षे योजना छ ।

रोचक पक्ष त यो छ कि, कम्युनिस्ट कार्यकर्तालाई मार्क्सवाद सिकाउने एकजना गुरु भने कांग्रेस नेता छन् । उनी हुन्, प्रदीप गिरि । मार्क्सवादबारे ज्ञानको भण्डार मानिने गिरिले १५ वैशाखमा झापामा कम्युनिस्ट कार्यकर्तालाई प्रशिक्षण दिए । १० हजार युवालाई माक्र्सवाद पढाउने लक्ष्यसहित झापाबाट सुरु भएको यो अभियानमा गिरिसँगै मोहनविक्रम सिंह, राम कार्की, हरि रोकालगायत प्रशिक्षक छन् ।

२१ र २२ वैशाखमा काभ्रेको धुलिखेलमा भएको प्रशिक्षणमा पनि गिरि प्रशिक्षकका रूपमा उपस्थित थिए । यो प्रशिक्षणमा मोहनविक्रम सिंह, चैतन्य मिश्र, पीताम्बर शर्मालगायतले पनि प्रशिक्षण दिए । २२ असारमा नेपालगन्जमा भएको प्रदेशस्तरको पहिलो मार्क्सवादी प्रशिक्षणमा पनि घनश्याम भुसाल, राम कार्की, गणेश शाहसँगै प्रदीप गिरि पनि प्रशिक्षण दिन पुगेका थिए ।

एक वर्षमा १० हजार युवालाई मार्क्सवाद सिकाउन भन्दै ६९ सदस्यीय मूल कमिटी, १३ सदस्यीय सचिवालय र १२ सदस्यीय सल्लाहकार कमिटी बनेको छ । तत्कालीन नेकपा एमाले, माओवादी केन्द्र र नेकपा मसालले कार्ल मार्क्स द्विशतवार्षिकी मूल समारोह समितिअन्तर्गत यी कमिटी बनाएका थिए । केपी शर्मा ओली, प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, अमिक शेरचन, गणेश शाह, विष्णुबहादुर मानन्धनर, मोहनविक्रम सिंह र चित्रबहादुर केसी सदस्य रहेको सल्लाहकार कमिटीमा प्रदीप गिरि पनि सदस्य छन् ।

प्रशिक्षकलाई विभिन्न विषय दिएर प्रशिक्षण चलाइएको छ । झापा र धुलिखेलमा जिल्लास्तरमा प्रशिक्षण चलाएको नेता कार्कीले बताए । ‘प्रशिक्षणमा नेताहरूलाई आ–आफ्नो विषय छुट्याइएको थियो,’ नेकपाका नेता राम कार्कीले भने, ‘गिरिलाई माक्र्सको जीवनसँग सम्बन्धित विषयमा प्रशिक्षण दिने जिम्मा थियो ।’ अन्य प्रशिक्षणमा पनि गिरि सहभागी हुने उनले बताए ।

आफूहरूलाई प्रशिक्षण दिन कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरि उपस्थित भएपछि कम्युनिस्ट कार्यकर्ता आश्चर्यमा पर्ने गरेका छन् । तर, गिरिको प्रशिक्षण सुन्दै गएपछि सबै प्रभावित भएको नेकपा मसालका नेता समीर सिंहले बताए । माक्र्सवादी प्रशिक्षणमा कांग्रेस नेता पुग्दा सुरुमा अन्योल हुने गरेको नेकपाका केन्द्रीय सदस्य तथा प्रशिक्षण आयोजक राम कार्कीले बताए । तर, गिरिको प्रशिक्षण अवधिभर बसेपछि कम्युनिस्ट कार्यकर्ता ‘कन्भिन्स’ भएर जाने गरेको उनले सुनाए ।

Loading...