कोरियामा कामदारको तलब ११% वृद्धि, अब न्यनतम् तलब नै १ लाख ६८ हजार बढी

काठमाडौं ।

दक्षिण कोरियामा कामदारको तलब १०.९% ले बढ्ने भएको छ। हिजोदेखि लगातार आज बिहान साढे चारसम्म बसेको ज्याला निर्धारण समितिको बैठकले आगामी वर्ष सन् २०१९ का लागि ईपिएसलगायत सम्पूर्ण कामदारको तलब करिब ११ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो।

तलब वृद्धिसँगै कामदारको तलब प्रति घण्टा ८३५० कोरियन वोन निर्धारण भएको छ। जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १७ लाख ४५ हजार १ सय ५० अर्थात मासिक नेपाली १ लाख ६८ हजार भन्दा बढी रूपैया पाउनेछन्।

गत वर्ष प्रतिघण्टा ७५३० वोन ज्याला थियो। ज्याला निर्धारण मजदुर युनियनका पाँच सदस्य, कम्पनी व्यावस्थापन र सरकारी प्रतिनिधिसहित २७ जनाको कमिटिले गर्ने गर्छ। हिजो सेजङमा न्यूनतम ज्याला वृद्धि गर्न विषयमा अन्तिम वार्ता भएको थियो। वार्तामा मजदुर पक्षधरले ८६८० वोन र सरोकारवाला निकाय पक्षधरले ८३५० वोन वृद्धि गर्नुपर्ने पक्षमा थिए। यद्यपी मजदुर युनियनहरुले प्रतिघण्टा १० हजार वोन वृद्धि गर्नुपर्ने माग राख्दै आन्दोलनका कार्यक्रम गर्दै आएका छन्।

सन् २०१९ का लागि तय गरिएको न्यूनतम ज्याला वर्तमान राष्ट्रपति मून जेइनले राष्ट्रपति निर्वाचन ताका गरेको प्रतिबद्धता अनुरुप भएको छ। राष्ट्रपति मूनले सन् २०२० सम्म मजदुरको न्यूनतम ज्याला प्रतिघण्टा १० हजार वोन पुर्‍याउने प्रतिबद्धता ब्यक्त गरेका थिए।

राष्ट्रपतिको प्रतिबद्धता अनुरुप न्यूनतम ज्याला वृद्धि भएसँगै यहाँ कार्यरत नेपाली सहितका इपिएस र कोरियन कामदार खुसी भएका छन्।हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली श्रमिक कार्यरत छन्।

२०७५ असार ३० मा प्रकाशित ।

Loading...