सिन्धुपाल्चोक जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुग्यो

सिन्धुपाल्चोक, २९ असार । सिन्धुपाल्चोकको सल्लेमा भएकाे जीप दुर्घटनामा परी मृत्यु हुनेकाे सङ्ख्या ५ पुगेकाे छ । पाँचपोखरी थाङपाल गाँउपालिकाको फ्याफुल्ला डाँडामा जीप दुर्घटनामा परी अन्य ९ जना घाइते छन् ।

बिहीबार बेलुकी मेलम्चीबाट भोताङतर्फ जाँदै गरेको लु१च ९९९ नम्बरको जीप थाङपालकोट र थाङपालधापको सीमानामा पर्ने फ्याफुल्ला डाँडामा दुर्घटना भएको हो । फ्याफुला डाँडामा अचानक स्टार्ट बन्द भएपछि करिब ४०० मिटर तल खसेको बुझिएकाे जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेहरु सिन्धुपाल्चाेकाे भाेेताङका बासिन्दा रहेका छन् । प्रहरीले दिएकाे जानकारी अनुसार भोताङका स्थानीय ७५ वर्षीया भीमबहादुर तामाङ, ५५ वर्षका जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङको घटनास्थलमै मृत्यु भएको थियो । त्यसैगरी भोताङकै ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङको उपचारका लागि लैजाने क्रममा बाटाेेमा मृत्यु भएको हाे । अविरल वर्षा र रातीको समयमा दुर्घटना भएकाले उद्धारमा कठिनाइ भएको थियो।

घटनाका घाइतेलार्इ दुर्घटनामा परेको जीपभन्दा पछाडि पछाडि आइरहेको ट्रकमा राखेर उपचारमा लगिएकाे थियाे । पानी परेको कारणले बाटो बिग्रिएको र बेलुकाको समय भएकोले उद्धार कार्यमा समस्या भएको स्थानीयले बताएका छन् ।

Loading...