बीबी एयरेवजले पायो पुन: उडान अनुमति, पार्किङ शुल्क एक करोड तिर्न बाँकी

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष भवन भट्ट लगानीको बीबी एयरवेजको इजाजतपत्र नबिकरण गर्ने निर्णय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । इजाजतपत्र खारेज भएको पाँच वर्षपछि फेरि बीबीको अनुमति पाएको हो।

मन्त्रिपरिसदको निर्णयले असार १ गते बीबी एयरवेजको इजाजतपत्र नबिकरण गर्ने निर्णय भएको हो। बीबीले मन्त्रालयमा पेस गरेको व्यवसायिक योजनालाई मुल्यांन गरेर इजाजतपत्र नवीकरण गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।

बीबीले पेस गरेको योजनामा निगमबाट खरीद गरेको बोइङ बेच्ने उल्लेख छ। ‘आगामी दिनमा बोइङ ७५७ र एयरबस ३३० खरीद गरी उडान गर्ने भनिएको छ,’ सहसचिव आचार्यले भने, ‘सो विमानबाट भारत, दोहा, सिंगापुर, दुवई, मलेसिया लगायतका देशहरुमा उडान गर्ने योजना बीबीले देखाएको छ।’

मन्त्रालयबाट इजाजत पाएसँगै बीबीलाई वायु सेवा सञ्चालन अनुमतिपत्र (एओसी) प्रक्रिया सुरु गर्न बाटो खुलेको छ। सन् २०१२ मा बीबी एयरवेजले कम्बोडियाको टोन्ले साप एयरलाइन्ससँग एउटा बोइङ भाडामा लिएर काठमाडौं मलेसिया उडान सुरु गरेको थियो। व्यवस्थापन क्षमता नपुग्दा तीन महिनामै बीबीको उडान बन्द भएको थियो।

उडान बन्द गरेको वर्षदिन नहुदा नै अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आइकाओ) को प्राविधिक मापदण्ड पूरा गर्न नसक्दा सन् २०१३ मा बीबी एयरवेजको सञ्चालन अनुमतिपत्र खारेज भएको थियो। आइकाओले २०१३ मा नेपालका वायु सेवा सञ्चालकहरुको अडिट गर्दा मापदण्ड पूरा भएको नपाएपछि बीबीसँगै सात वटा कम्पनीको वायुसेवा सञ्चालन अनुमति पत्र खारेजीमा परेका थियो।

बीबीले निगमको विमान १४ लाख ६० हजार अमेरिकी डलरमा निगमको बोइङको विमान किनेको हो। खरीद गरेको विमान एओसी नभएकाले बीबीले आफ्नो नाममा समेत ल्याउँन सकेको छैन। ६ महिनादेखि सो विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको ह्याङ्गरमा छ।

खरिद गरेदेखि सोमबारसम्ममा यो विमानको पार्किङ शुल्क १ करोड ४० लाख ४० हजार (१ लाख ४० हजार ४ सय अमेरिकी डलर) रुपैयाँ पुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले २४ घन्टाको एक लाख केजी तौल भएको जहाजको पार्किङ शुल्क ७ सय ८० अमेरिकी डलर लिनेगर्छ। सो बोइङ एक लाख केजी क्याटागोरीमा पर्छ। नेपाल वायुसेवा निगमका अनुसार पुस २६ सम्मको पार्किङ शुल्क निगमले नै तिरिसकेको छ। त्यसयताको रकम बीबीले तिर्नुपर्नेछ। बीबीले किनेको २०१६ देखि ग्राउन्डेड बोइङ ७५७–२०० नाइनएन–एसिए कलसाइनको जहाज तीस वर्ष पुरानो हो। कर्णाली नाममा निगमले ३० वर्ष सञ्चालन गरेको यो जहाजको १९० सिट क्षमता छ।

निगमले यो जहाज ९ सेप्टेम्बर १९८७ देखि आफ्नो स्वामित्वमा लिएको थियो। ३० सेप्टेम्बर १९९० मा रोयल ब्रुनाई एयरलाइन्सलाई भाडामा दिएको जहाज १५ जनवरी १९९१ मा निगमले फर्काएको थियो।

जहाजमा आरबी २११–५३५ इ४ मोडेलका दुईथान इन्जिन छन्। दुई मध्ये एउटा इन्जिनको आयु सकिएको छ। अर्को इन्जिनको एक सय घन्टा उडान आयु बाँकी छ। निगमले जहाज बेच्दा जस्तो अवस्थामा छ त्यही अवस्थामा बेचेको हो। बीबीले इन्जिन फेरेर मर्मत गरेर मात्र यो विमान उडाउन सक्छ।

Loading...