नेपाल पसेर धर्म प्रचार गर्ने फिलिपिनी दम्पतिलार्इ देश निकाला

काठमाडौं, २५ असार । गृह मन्त्रालयले व्यवसायिक प्रवेशाज्ञा (विजनेस भीसा) को आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न फिलिपिनी दम्पत्तीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निष्काशन (डिपोर्ट) गरेको छ ।

व्यापारिक भीसा लिएका केही विदेशी चर्च चलाएर धर्म प्रचारमा संलग्न भएको उजुरी आएपछि गृह मन्त्रालयले अध्यागमन विभागलाई छानबिन गर्न निर्देशन दिएको थियो । निष्काशित हुनेमा फिलिपिनी नागरिक दे भेरा रिर्चड र इन्डोनेसियाकी रिता गोङ्गा छन् ।

इसाई धर्म प्रचारमा संलग्न भएको आरोपमा कुनै विदेशीलाई गृह मन्त्रालयले निष्काशन गरेको यो सम्भवत पहिलो घटना हो । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले भीसा दुरुपयोग गर्ने जो कोहीमाथि कारबाही हुने बताए ।

महानिर्देशक काफ्लेले अन्नपूर्णसँग भने, ‘एउटा प्रयोजनका लागि लिएको भीसा अर्को प्रयोजनमा प्रयोग गर्न पाईंदैन । फिलिपिनी दम्पत्तीले भीसाको दुरुपयोग गरे ।’

विदेशी नागरिक अनुगमन निर्देशिका लागू भएपछि अध्यागमन विभागलाई विदेशी नागरिकको निगरानी गर्न सहज भएको छ । निर्देशिका लागू भएपछि अध्यागमनले धर्म प्रचारलगायत अध्यागमन कानुन उल्लंघन गर्ने विदेशीलाई निगरानीमा रोखेको छ ।

ललितपुरको पुल्चोकमा रेष्टुरेण्ट चलाएर बसेका फिलिपिनी दम्पत्तीले कुमारीपाटीको ‘इभर नेसन चर्च’ मा पादरी भइ इसाईधर्म प्रचार गरेको अभियोगमा अध्यागमन विभागले छानबिन थालेको थियो ।

छानबिनमा उनीहरूले व्यवसायिक भीसाको आडमा चर्चमार्फत् इसाईधर्म प्रचार गरेको पुष्टी भएपछि अध्यागमन विभागले एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउँदै शुक्रबार निष्काशन गरेको हो । अध्यागमन विभागले उनीहरूलाई सिल्क एयरबाट सिंगापुर हुँदै फिलिपिन्स पठाएको छ ।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई ती फिलिपिनी दम्पत्तीको निष्काशनबारे जानकारी गराएको थियो । अध्यामगन विभागबाट व्यवसायिक भीसा लिइ पादरी भएका फिलिपिनी दम्पत्ती इसाईधर्म परिवर्तनमा संलग्न भएको पुष्टी भएपछि गृहले निष्काशनको निर्णय गरेको हो । चर्चमा स्वयंसेवक र पादरीका रुपमा रही उनीहरूले इसाई धर्म प्रचार गरेका थिए । अध्यागमन विभागले उनीहरूको व्यवसायिक भीसा पनि रद्ध गरेका छन् ।

रिर्चडले इसी ६७६४२१४ नम्बरको फिलिपिन्सको र उनकी पत्नी रिताले वी ३२२१९३५ नम्बरको इन्डोनेसियाको राहदानीमा नेपाल बस्दै आएका थिए । अध्यागमन नियमावालीको नियम २८ मा जुन उद्देश्यका लागि भीसा प्रदान गरिएको हो सोही अनुरुपका काम नगरी अन्य काम गरे भीसा रद्ध गर्न सकिने प्रावधान छ । फिलिपिनी दम्पत्तीले अध्यागमन ऐन/नियमावली उल्लंघन गरेको अभियोगमा जरिवाना तिरेपछि अध्यागमन विभागले उनीहरूको भीसा नियमित गरी निष्काशन गरेको छ ।

Loading...