मुस्ताङ दुर्घटनामा मृत्यु हुनेको संंख्या २० पुग्यो, सबै शव पोखरा ल्याइयो

पाेखरा, २३ असार । मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेकाे स‌ख्या २० जना पुगेको छ । शनिवार २० जनाकै शव पोखरा ल्याइएको छ ।

नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत ती शव अाज बिहान दुर्घटनास्थल स्याङ्बोचेबाट ल्याइएकाे हाे । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार १५ शव स्याङबाेचेमा थिए भने पाँच शव जिल्ला अस्पताल जोमसोममा रहेका थिए । दुर्घटनामा घाइतेको उद्धार गर्ने क्रममा शुक्रबार साँझ रात परेपछि १५ शव घटनास्थलमा नै छाड्नुपरेको थियो ।

दुर्घटनामा परी घाइते भएकामध्ये सात जनालाई शुक्रबार साँझ नै सेनाको एमआई सेभेन्टिन र एयर डाइनास्टिकको विमानबाट उपचारका लागि पोखरा लगिएको थियो । दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको भने जिल्ला अस्पताल मुस्ताङमा नै उपचार भइरहेको छ ।

दुर्घटनामा परी मृत्यु भएका र घाइते कोही पनि मुस्ताङका नभएका कारण जिल्ला सुरक्षा समिति मुस्ताङले सबै घाइते र शव पोखरा लाने निर्णय गरेको थियो ।

बेनी–जोमसोम– कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३ स्थित स्याङ्बोचेमा कालीगण्डकी करिडोर निर्माणमा काम गरिरहेका कामदार बोकेको बा२क २२१९ नंको टिपर शुक्रबार अपराह्न २ बजे दुर्घटना भएको थियो ।

Loading...