राष्ट्रपति पुटिनको फोनपछि रूसको टोलीले यसरी निकाल्यो स्पेनमाथि जित

काठमाडाै । आयोजक रुसलाई विश्वकप सुरु हुनुअघिसम्म धेरैले त्यति कडा प्रतिस्पर्धीका रुपमा हेरेका थिएनन् । हुन पनि विश्वकप खेल्ने ३२ देश मध्ये विश्व फुटबलको प्रशासकीय निकाय फिफाको बरियतामा सबैभन्दा पुछारमा रुस नै थियो ।

तर विश्वकप सुरु भएपछि रुसको करामद देखियो । उसले प्रभावशाली जित निकाल्दै आयो । अन्तिम १६ अन्तर्गत उसले कलात्मक फुटबलका लागि चर्चित स्पेन प्रतिस्पर्धी पायो । स्पेनसँगको खेलका लागि रुसले तयारी गरिरहेको थियो ।

खेलाडी घरेलु मैदानमा नयाँ उचाई लिनका लागि आफ्नो सबै लगाएर प्रयास गरिरहेका थिए । त्यसमा साथ थियो राष्ट्रपति भ्लादिमिर पुटिनको । स्पेनसँगको खेलअघि राष्ट्रपति पुटिनले प्रशिक्षक स्टानिस्लाभ चेरचेस्वभलाई फोन गरेका थिए ।

रुसी राष्ट्रपति पुटिनका प्रवक्ता डिमिट्री पेस्कोभले भने, ‘खेल अघि अपराहन्न राष्ट्रपति पुटिनले प्रशिक्ष्क चेरचेस्वभलाई फोन गरेर जितको शुभकामना दिनुभएको थियो ।’ पुटिन मस्कोमा भएको खेल हेर्न आएका थिएनन् । तर उनले फोन गरेर शुभकामना दिए ।

रुसले आत्मघाती गोलबाट पछि परेको अवस्था उल्ट्याउँदै बलियो टिम स्पेनलाई निर्धारित मात्रै होइन अतिरिक्त समयमा पनि १–१ को बराबरीमा रोक्यो ।

खेल टाइब्रेकरमा पुग्यो । त्यसमा सन् २०१० को विश्व विजेता स्पेनलाई स्तब्ध पार्दै रुसले क्वाटरफाइनलको यात्रा तय गर्न सफल भयो । पुटिनले रुसको क्वाटरफाइनल खेल रंगशालामै गएर हेर्ने वा नहेर्ने खुलेका छैन ।

पेस्कोभले भने, ‘राष्ट्रपति पुटिनले चेरचेस्वभसँग उहाँको प्रशिक्षणमा रुसी टिमले असम्भवलाई सम्भव बनाइसकेको टेलिफोनमा बताउनुभयो । यस्तै स्पेनसँगको खेलका नतिजा जे आए पनि सम्मान उस्तै रहन्छ भन्नुभयो ।’

रुसले आउँदो शनिबार सोचीमा हुने क्वाटरफाइनलमा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

Loading...