सबैलार्इ चकित पार्दै जेलबाट हेलिकोप्टरमा यसरी भागे खतरानाक कैदी

काठमाडाैं । पेरिसको जेलबाट एक कुख्यात ग्याङ्ग्स्टर फिल्मी शैलीमा फरार भएका छन् । घटना पेरिसस्थित एक जेलको हो जहाँबाट उनी हेलिकोप्टरमा फरार भएका छन् । फ्रान्सेली अधिकारीले आइतबारको उक्त घटनाको पुष्टि गरेका छन् ।

४६ वर्षका रेदुअन फैदलाई अत्यधिक हतियार बोकेका तीनजनाले हेलिकोप्टरबाट उत्रिएर आफूसँगै हेलिकोप्टरमा राखेर फरार भए । फैदलाई असफल डकैतीको मामलामा २५ वर्षको जेल सजायँ तोकिएको थियो । उक्त घटनामा एक पुलिस अधिकारीको मृत्यु भएको थियो । पुलिसका अनुसार सन् २०१० मा भएको उक्त डकैतीका मास्टरमाइन्ड फैदी नै थिए । फैदलाई उक्त डकैतीका लागि सन् २०१७ अप्रिलमा सजायँ तोकिएको थियो ।

फैद पहिले पनि जेलबाट फरार भइसकेका थिए । उनी जेलबाट भागेको यो दोस्रो घटना हो । सन् २०१३ मा उनी चार सुरक्षाकर्मीलाई मानव ढाल बनाएर थुप्रै ढोकाहरु तोडेर फरार भएका थिए । यद्यपी, भागेको ६ हप्ताभित्रै पुलिसले उनलाई पक्राउ गरेको थियो ।

त्यतिबेला उत्तर फ्रान्सको जेल लगिएको आधा घण्टाभन्दा कम समयमा नै उनी फरार हुन सफल भएका थिए । फ्रेन्च वेबसाइट यूरोप वानको रिपोर्ट अनुसार फैद र उनका सहयोगी जेलबाट कसैलाई पनि घाइते नबनाई फरार हुन सफल भएका छन् ।

फरार भएका फैदको हेलिकोप्टर नजिकैको बुर्जे इलाकातर्फ उड्यो । पछि स्थानीय पुलिसले उक्त हेलिकोप्टरको जलेको भग्नावशेष उत्तर पेरिसस्थित गोनेसेमा फेला पार्यो ।

यस्ताे छ फैदको आपराधिक इतिहास

सन् १९७२ मा जन्मिएका फैद पेरिसका कुख्यात अपराधग्रस्त उपनगरमा हुर्किए । पछि उनी अपराधको दुनियामा जोडिए । सन् १९९० को दशकमा उनी डकैती र हप्ता उठाउने एक ग्याङ्ग चलाउने र सन् २००१ मा उनलाई डकैतीका लागि ३० वर्षको जेल सजाय सुनाइएको थियो । गत वर्ष मात्र उनलाई सन् २०१३ मा जेल तोडेको भन्दै १० वर्षको सजायँ दिइएको थियो ।

सन् २००९ मा फैदले एउटा किताब लेखे । यसमा उनले पेरिसको अपराधग्रस्त उपनगरीय जीवन र अपराधको दुनियाँमा आफ्नो अनुभवबारे बताएका छन् । किताबमा उनले अपराधको दुनियाँ छोडिसकेको दाबी गरेका थिए तर त्यसको एक वर्षपछि नै उनलाई असफल डकैतीमा संलग्न भएको भन्दै जेल सजायँ तोकिएको थियो ।

Loading...