सकियो रोनाल्डो विश्वकप यात्रा, उरुग्वेद्धारा पोर्चुगल २–१ ले पराजित

एजेन्सी ।

रसियामा शनिबार राति भएको नकअाउट चरणको दोस्रो खेलमा दुई पटकको विश्व विजेताले साविकको युरोकप विजेता पोर्चुगललाई २-१ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

नकआउट चरणको दोस्रो खेलमा उरूग्वेले पोर्चुगल विरूद्ध खेलको पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो। उरूग्वेका लागि ‍इडिसन काभानीले गोल गरेका थिए।

उनले खेलको ७ औं मिनेटमा हेडमार्फत पहिलो गोल गरे। लुइस स्वारेजको क्रसफिल्डबाट उपलब्ध बललाई पोर्चुगलको जाली चुमाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको पोर्चुगलका लागि दोस्रो हाफको ५५ औं मिनेटमा खेलमा फर्कियो। पोर्चुगलका लागि सो गोल पेपेले गरे।

सोचीस्थित फिष्ट ओलम्पिक रंगशालामा बराबरी गोल खाएको उरूग्वेले पोर्चुगलको बराबरीलाई धेरै बेर रहन दिएन। फेरि एकपटक गोल गर्दै काभानीले पोर्चुगललाई निराश पारे। खेलको ६२ मिनेटमा फेरि पोर्चुगलको पोस्टमा बल छिराए र अग्रतालाई २-१ पारे।

टोलीलाई २ गोलको योगदान दिदै क्वाटरफाइनलका लागि मार्ग प्रसश्त गरेका काभानी त्यसको केही समयपछि घाइते हुँदै मैदान छाड्न बाध्य भए।

९० मिनेट सकिएपछि थपिएको ४ मिनेटको अतिरिक्त समयमा रोड्रिगेजले वान भर्सेज वानको अवस्थामा गोल गर्ने सुन्दर मौका खेर फालेका थिए।

त्यस्तै खेलमा पोर्चुगलले अग्रता लिने केही मौकाहरू पाएको भए पनि उसले उरूग्वेको पोस्टमा गरेका प्रहारले सहि कोण लिन सकेनन् र ऊ गोल गर्न असफल भयो।

अघिल्लो चरणमा उरूग्वेको भिडन्त फ्रान्ससँग हुनेछ। यसअघि शनिबार भएको नकआउट चरणको पहिलो खेलमा पूर्व उपविजेता अर्जेन्टिनालाई ४-३ ले हराउँदै फ्रान्स क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ।

 मेस्सी र रोनाल्डो एकै दिन आउट

संयोग नै मान्नुपर्छ, एक दशकदेखि विश्वको उत्कृष्ट फुटबलरको होडमा प्रतिस्पर्धी रहेका मेस्सी र रोनाल्डो दुबै एकैदिन विश्वकपबाट बाहिरिए । सुरुमा मेस्सीको टिम बाहिरियो ।

त्यसको केही घन्टा नवित्दै रोनाल्डो पनि विश्वकपबाट बाहिरिएका छन् । चार वर्षपछि सन् २०२२ मा विश्वकप हुँदै गर्दा मेस्स ३५ वर्षको हुनेछन् भने रोनाल्डो ३७ वर्षका भइसक्नेछन् ।

२०७५ असार १७ मा प्रकाशित 

Loading...