अवतरणका क्रममा ग्राण्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

काठमाडौं, १६ असार । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ ।

सिम्रिक एयरकाे हेलिकोप्टर चितवन विरामी लिन जान लागेको थियो । ग्राण्डीको छतमा हेलिकोप्टर ल्याण्ड गर्न हेलिप्याड बनाइएको छ । शनिबार दिउसाे अवतरणका क्रममा विमान दुर्घटनामा परेको छ । हेलिकोप्टर उडाउने क्रममा अनियन्त्रित भइ अस्पतालको छतमै सामान्य दुर्घटना भएको बताइएको छ ।

स्राेतका अनुसार उक्त हेलिकप्टर विहान दोलखाको चरिकोटबाट बिरामी लिएर आएको थियो । एक बालकलाई लिएर आएको हेलिकप्टर अवतरण गरेर इन्धन भरेर डाक्टरसहित चितवन उड्ने तयारीमा थियो ।

चितवन भरतपुरमा विरामी लिन जानुपर्ने भएपछि बिरामी बालकलाई अस्पताल ओरालेर इन्धन भरेर फेरि अस्पतालमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको हो ।

कल साइन 9NA LRको हेलिकोप्टर अस्पतालको डाक्टर लिएर चितवन बिरामी लिन उड्ने तयारीमा रहेको काठमाडौँ प्रहरीका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।

उनले भने, ‘डाक्टरलाई रिसिभ गर्न ग्रान्डीको छतमा ल्यान्ड गर्ने क्रममा उक्त विमान दुर्घटना भएको छ ।’

प्रमुख एसएसपी पोखरेलका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति हुन पाएन । ‘ल्याण्ड गर्ने क्रममा माथिल्लो तल्लाबाट तल्लो तल्लामा खसेको हो, एसएसपी पोखरेलले भने, ‘ हेलिकप्टरलाई भने निकाल्न सकिएको छैन ।’ हेलिकाेप्टरको पखेटामा क्षति पुगेको छ ।

Loading...