सोल–सल्यानमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

सोलुखुम्बु, १५ असार । सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

आज बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना. ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिनस अस्पताल ओखलढुंगा लगिएको बताइएको छ । जीपमा आठ जना सवार रहेको बुझिएको छ ।

तिङ्ला र सल्यानको सिमानामा पर्ने गुप्तेश्वर महादेवको मन्दिर नजिकबाट जीप करिब १ हजार मिटर तल खसेको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रधुम्न अधिकारीले जानकारी दिए ।

कालीगण्डकीमा जीप खस्दा २ वेपत्ता

त्यसैगरी कालीगण्डकी नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–७ घराम्दीदेखि बेनी बजार आउँदै गरेको लु २ च २४५४ नम्बरको जीप बेनी–जोमसोम सडक अन्तर्गतको तिप्ल्याङ खण्डमा दुर्घटना भएको हो ।

जीप सडकबाट करिब ३० फिट तल कालीगण्डकीमा खसेको म्याग्दीका प्रहरी नायव उपरीक्षक बिरबहादुर बुढामगरले जानकारी दिए । अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष गमबहादुर फगामीका अनुसार घराम्दीबाट जीप छुट्दा

चालक बेनी नगरपालिका–९ का अन्दाजी ३२ वर्षीय रवी खड्का र घराम्दीकी २० वर्षीया सबिता नेपाली सवार थिए ।

कालीगण्डकीको बीचमा अड्किएको जीपभित्र सवार व्यक्तिको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थलमा पुगेको बुढाले बताए ।
नदीमा अड्किएको जीप बाहिर निकाल्न एक्जाभेटर समेत प्रयोग गरिएपनि नदीमा बढेको पानीको बहावले समस्या उत्पन्न भएको प्रहरीले जनाएको छ ।

Loading...