नेपाल टेलिकमले मिडास र्इ–क्लाससँग मिलेर ग्राहकका लागि ल्यायो यस्तो सुविधा

काठमाडौं, १३ असार । नेपाल टेलिकमले मिदास एजुकेसन प्रालिसँग सहकार्य गरी मिदास ई–क्लास सेवा उपलब्ध गराएको छ । विद्यालय तहमा पढाइने पाठ्यक्रम विद्यार्थीलाई मोबाइल फोन, ट्याब्लेट र कम्प्युटरका माध्यमबाट उपलब्ध गराई सिक्न सघाउने उद्देश्यले टेलिकमले यो सेवा उपलब्ध गराएको हो ।

उक्त प्लेटफर्मको माध्यमबाट उपलब्ध गराइने शैक्षिक सामग्रीहरू श्रव्य, दृश्य माध्यममा हुने भएकाले बालबालिकालाई रुचिपूर्ण र बुझ्न तथा सम्झन सहज हुने अपेक्षा गरिएको टेलिकमले जनाएको छ । विद्यालयमा पढ्नुपर्ने पाठमा आधारित क्विज र गेम पनि यसमा उपलब्ध रहेका छन् । नेपाल टेलिकमका ग्राहकले इन्टरनेटको प्रयोग गरी मोबाइल फोन र ट्याब्लेटमार्फत मिदास ई–क्लास प्रयोग गर्न सक्नेछन् ।

मिदास ई–क्लासमा शिशुकक्षा (प्लेग्रुप)देखि कक्षा १० सम्मका विभिन्न विषयहरू समावेश गरिएको छ । मिदास ई–क्लासको सहयोगले बालबालिकाले नबुझेका विषयवस्तुका बारेमा अनलाइनमार्फत शिक्षकसँग सम्पर्क गरी सिक्न सक्ने दाबी गरिएको छ ।

शिक्षकले विद्यार्थीका लागि आवश्यक पाठ्यसामग्री यसैमार्फत उपलब्ध गराउन सक्नेछन् । त्यसैगरी, अभिभावकले पनि शिक्षकसँग अन्तक्र्रिया गरी सिकेर आफ्ना बालबालिकालाई सिकाउन सक्नेछन् ।

१२ असारदेखि उपलब्ध यो सुविधाका लागि नेपाल टेलिकमका ग्राहकले दैनिक १५ रुपैयाँ, साप्ताहिक ७० रुपैयाँ र मासिक २ सय ५० रुपैयाँ तिर्नुपर्नेछ ।

यो सुविधा उपभोग गर्न वाइफाई वा मोबाइल डाटा सेवा आवश्यक पर्छ । मोबाइल डाटा प्रयोग गर्दा डाटाको अतिरिक्त शुल्क लाग्ने जनाइएको छ । नेपाल टेलिकमले उपलब्ध गराएका विभिन्न डाटा प्याकहरूको प्रयोग गरी यो सेवा उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

इन्टरनेटको माध्यमबाट सामग्रीहरू उपलब्ध गराइने भएकाले ग्रामीण तथा दुर्गम स्थानका बालबालिकाले समेत सहजै शैक्षिक सामग्री प्राप्त गरी लाभान्वित हुने कम्पनीले विश्वास व्यक्त गरेको छ ।

Loading...