रेक्ट्रोफिटिङ तालिम प्रदान गर्दै महानगर

 

  असार १३  ललितपुर /    भूकम्प प्रतिरोधी घर निर्माणमा टेवा पु¥याउने उद्देश्यले ललितपुर महानगरपालिकाले इन्जिनियरहरुका लागि प्रबलीकरण (रेक्ट्रोफिटिङ) तालिम सञ्चालन गरेको छ ।

गएको ललितपुर असार ८ गते देखि शुरु गरिएको रेक्ट्रोफिटिङ सम्बन्धि ३ दिने प्राविधिक तालिमको मंगलबार एक समापन कार्यक्रमबीच सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

महानगरपालिकामा भूकम्पले आंशिक क्षति भएका र भवन निर्माण आचारसंहिता अनुरुप घर पुननिर्माण नगरी विविध कारणले प्रबलीकरण गर्न चाहनेहरुको हितकालागि रेट्रोफिटिंङ गरि घर निर्माण सम्बन्धि अभियान नै चलाउन सो तालिम सहायक सिद्ध भएको महानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख हरिश्चन्द्र लामिछानेले बताएका छन । २०७२ को भूकम्प लगत्तै जाईका नेपालको सहयोगमा कार्यान्वयन गरिएको “काठमाडौं उपत्यका भूकम्प विपत्ति जोखिम मूल्याङ्कन परियोजना”को प्रतिवेदन अनुसार काठमाडौं उपत्यकाका आवसीय घरहरुमध्ये करिब ७७,७१३ (१७.५%) सामान्य, ६२,६९१ (१४.१%) मध्यम र १,३६,०६० (३०.६%) अत्याधिक क्षतिको जोखिममा रहेको पाईएको छ । विशेषत ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा उक्त परियोजना केन्द्रिकृत गरिएको आधारमा पनि ललितपुर महानगरपालिका भित्र रहेका घरहरु भूकम्प प्रतिरोधी नभएको सजिलै अनुमान गर्न सकिन्छ । ‘जाईकाको सहयोगमा नेपाल सरकार र विदेशी प्राविधिकहरु रहेर तीन वर्षसम्मको अध्ययनले देखाए अनुरुप करीव ३० प्रतिशत घरहरु भूकम्प प्रतिरोधी छैनन्,’ महानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख हरिश्चन्द्र लामिछानेले भने, ‘भूकम्पले पुर्याएको क्षतिका कंक्रिट धलान गरिएका घरहरु अझै पनि विभिन्न कारणले बनेका छैनन भने त्यस्ता घरहरु भत्काउन निकै खर्चिलो हुने गरेको र धेरैजसो भूकम्पपिडित लाभग्राहीहरु ऐच्छिक प्रबलीकरणमा जान चाहेको सन्दर्भमा महानगरपालिका अन्तर्गतका वडाहरुमा कार्यरत प्राविधिक ईन्जिनियरहरुको रेट्रोफिटिङ सम्बन्धि क्षमताबृद्धिकालागि पनि यो तालिम आयोजना गरिएको हो ।’ क्षति पुगेका बस्न अयोग्य भौतिक संरचनालाई पूर्ण रुपमा नभत्काई वा नयाँ निर्माणको विकल्पमा आवश्यक परिमार्जन सहित भूकम्प प्रतिरोधी तरीकाले मर्मत गर्नुुलाई सामान्यत रेट्रोफिटिङ भनि बुझिन्छ । तालिममा यस्तो प्रकारको मर्मत सम्भार कार्यको दकर्मी कार्य देखि आरसीसी भवनका साथै नन स्ट्रकचरल रेट्रोफिटिङ, गुणस्तर मापन, सुपरिवेक्षण लगायत निर्माण सामाग्रीको प्रयोगका विभिन्न तरीकाहरुबारे डा. सन्तोष श्रेष्ठ, एक्मे संस्थाका रितेश अमात्यले र डा. पुरुषोत्तम डंगोलले प्रशिक्षण दिएका थिए । त्यसैगरि, भवन आचारसंहिता, मापदण्ड र निर्माण सम्बन्धित नियमावलीकाबारे प्रदीप पौडेल र महानगरपालिका शहरी विकास महाशाखाका प्रमुख रुद्र गौतमले प्रशिक्षण दिएका थिए । बैशाख १२ को विनाशकारी भूकम्पपछि लागू गरेको भवन आचारसंहिता अनुसार घरको पिलर चौडाई र मोटाई न्यूनतम १२ इन्चको हुनुपर्नेछ । नया“ मापदण्ड अनुरुप घरको स्टक्चरल नक्सा बन्ने यकीन गराउन महानगरपालिकाले ६ सय इन्जिनियरहरुलाई अनुमति पत्र प्रदान गरिएको थियो । ‘साविकको नगरपालिकाले २०५९ सालमा भवन निर्माण आचारसंहिता लागू गर्दा सरकारले भवन निर्माण सम्बन्धी कुनै आचारसंहिता लागू गरेकै थिएन, तत्कालिन प्रयासको प्रतिफलले ललितपुरमा मानवीय क्षति कम भएको मान्न सकिन्छ ।’ महानगरपालिका शहरी विकास महाशाखाका प्रमुख रुद्र गौतमले भने, ‘सरकारले पछि २०६२ सालमा भवन निर्माण आचारसंहिता लागू गरेपश्चात नयाँ निर्माणमा पिलरको चौडाई ९ इन्च र मोटाई १२ इन्च गर्नुपर्ने नियम आएकोे हो । त्यतिबेला पनि चौडाई ९ इन्च र मोटाई ९ इन्चको फर्माको प्रचलन सुधार्न समय लाग्नाले आचारसंहिता कार्यान्वयन गर्न सकिएन ।’ पछिल्लो आचारसंहिता पनि करिब ३० प्रतिशतले पालना नगरेको शहरी विकास महाशाखाले जनाएको छ । ‘भूकम्पपछिको अनुभव, विभिन्न अध्ययनले भावी जोखिमको मूल्यांकनका आधारमा जारी आचारसंहिता लागू नगरीकन नक्सापास नै हुदैन भन्ने सबैले बुझुन । आचारसंहिता लागू गर्न निकै चुनौती रहेको अवस्थाबीच तुलनात्मक रुपमा न्यून खर्चमा रेट्रोफिटिङको अवधारणा ल्याइएको छ ।’ महाशाखा प्रमुख गौतमले भन्नुभयो । काठमाडौं उपत्यकाको भूकम्पीय जोखिम मूल्याङ्कनकालागि ३ वटा पाइलट नगरपालिकाहरूमा “अझ राम्रो र बलियो (Build Back Better – BBB) पुनर्निर्माण योजना”, “स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना” कार्यान्वयन गर्दै तत्सम्बन्धि “आधारभूत कार्यसञ्चालन विधि” को तर्जुमा र “समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गतिविधिहरु” जाईका नेपालको सहयोगमा नेपाल सरकारले तीन वर्ष लगाएर कार्यान्वयनमा ल्याएको अवस्था छ । उक्त अध्ययनबाट प्राप्त अभ्यास र सिकाईले नेपालको सम्पूर्ण स्थानीय निकायहरुको लागि स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनाको प्राविधिक निर्देशिकाको तर्जुमा समेत गरिसकेको अवस्थामा रेट्रोफिटिङबारे यस्ता तालिम प्रभावकारी रहने आयोजकले अपेक्षा राखेका छन ।

Loading...