परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीमाथि खेलवाड गरेकाे दावी

काठमाडौँ, ११ असार । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल प्रकाशित गर्दा पर्याप्त मात्रामा ध्यान नदिँदा दुईपटक गरेर विद्यार्थीमाथि खेलवाड गरेको सहभागीले बताएका छन् । उनीहरुले परीक्षाफल जस्तो कुरालाई दुईदुई पटक प्रकाशित गर्दा विद्यार्थीमाथि खेलवाड गरेको बताए ।

पूर्वसचिव जनार्दन नेपालले एसईईको परीक्षाफल प्रकाशनमा सरकारले लापरबाही गरेको बताए । उनले बिना तयारी अक्षराङ्कन पद्धतिलाई लागू गर्दा दुई पटक परीक्षाफल प्रकाशित गर्नुपरेको बताए ।

अहिलेको अक्षराङ्कन पद्धति त्रुटिपूर्ण रहेको भन्दै उनले शिक्षकले गर्ने आन्तरिक सिकाइलाई पनि अक्षराङ्कन पद्धतिमा मूल्याङ्कन गर्नुपर्ने बताए ।

“अहिले उत्तरपुस्तिका परीक्षण गर्ने अंकमा र परीक्षाफल प्रकाशित गर्ने अक्षराङ्कन पद्धतिमा देखिएको छ”–उनले भने, “विद्यार्थीको आन्तरिक मूल्याङ्कनलाई पनि अक्षराङ्कन पद्धतिमा समेटेर नतिजा प्रकाशन गर्नुपर्दछ ।”

उच्च शिक्षालय तथा विद्यालय संघ नेपाल (हिसान)का अध्यक्ष रमेश सिलवालले दुईपटक एसईईको परीक्षाफल प्रकाशित हुँदा कुन आधिकारिक हो भन्नेमा विद्यार्थी तथा अभिभावक अझै अलमलमा परेको बताए । उनले दुईपटक परीक्षाफल प्रकाशित गर्नुको सट्टा हतार नगरी एक दिन ढिलो गरेर परीक्षाफल प्रकाशित गर्नुपर्ने बताए ।

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का महासचिव राजेन्द्र बानियाँले एसईई नतिजा प्रकाशित गर्ने काममा सरकारले हतार गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको बताए ।

नेपाल निजी तथा आवासीय विद्यालय संगठन (एन–प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले अक्षराङ्कन पद्धतिलाई सुधार गर्नुपर्ने बताए ।

Loading...