बीपी राजमार्गमा अब भार मापन यन्त्र जडान गरिने

सिन्धुली । 

बीपी राजमार्गमा संचालन हुने सवारी साधनलाई नियमन गर्न भार मापन यन्त्र जडान गरिने भएको छ ।

साँघुरो तथा घुमाउरो सडकमा सडक मापदण्डविपरित यात्रुवाहक तथा मालवाहक सवारी साधनले ओभरलोड बोक्दा सडकको अवस्था जीर्ण बन्दै गएपछि भारमापन यन्त्र जडान गर्न लागिएको हो ।

राजमार्गको पटकपटक स्तरोन्नति र मर्मत गरिए पनि क्षमताभन्दा बढी भार भएका सवारी साधन ओहोर–दोहोर गर्दा कालोपत्रे छ महिना पनि टिक्न गाह्रो हुने गरेको सडक विभागले जनाएको छ ।

सरकारले मापदण्ड लागू गरेपछि कुन सवारी साधनले कति भार बोक्छन् भन्ने मापन गर्न भारमापन यन्त्र जडान गर्न लागिएको विभागले जनाएको छ ।

सरकारले बीपी राजमार्गमा धेरै भार भएका सवारी साधन सञ्चालन गर्न नमिल्ने बताउँदै आएको छ । तर बीपी राजमार्ग हुँदै विभिन्न जिल्लामा यातायात सञ्चालन गर्दै आएका व्यवसायीले भने निर्वाध रुपमा सवारी सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

ओभरलोडका सवारी साधन सञ्चालन हुँदा बीपी राजमार्ग मर्मत गर्न मात्र वार्षिक १ करोड रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ । ट्राफिक प्रहरीेका अनुसार हाल बीपी राजमार्गमा साना ठूला गरी दैनिक ३ हजार सवारी साधन आवतजावत गर्ने गरेका छन् ।

२०७५ असार १० मा प्रकाशित 

Loading...