कार्तिक नाच देखि साल्सा डान्ससम्म गर्दै सम्पन्न भयो ‘स्वजन रघुवंशी एकल साँझ’

    असार ५ , काठमाडौ । नेपालमै पहिलो पटक नृत्य विधामा एकल कार्यक्रम आइतबार जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा ‘स्वजन रघुवंशी एकल साँझ’ भव्यताका साथ सम्पन्न भएको छ । लाईभ वाद्यवादन र गायनसँगै विभिन्न ७ विभिन्न फर्मका नृत्यहरु प्रस्तुत गर्दै कलाकार स्वजन रघुवंशीको एकल साँझ सम्पन्न भएको हो ।
आफ्नो एकल साँझको शुरुवात कलाकार स्वजन रघुवंशीले नमस्कार नृत्यबाट गरेका थिए । लोक नृत्यको साथै कथक र भरतनाट््यमको नमस्कार र कार्तिक नाचको द्यः ल्हायेगुबाट कलाकार रघुवंशीले गुरु, मातापिता, इष्टदेव, नाटेश्वर, वाद्यवादक, जल, वायू, पृथ्वी, अग्नि, आकाश, दर्शक, कर्मभूमि सम्पूर्णलाई वन्दना गरे । त्यसपछि हरेक कार्तिकमा मात्र र मंगलबजारस्थित कार्तिक डबलीमा मात्र प्रदर्शन हुँदै आएको कार्तिक नाच पनि पहिलो पटक मंचमा प्रस्तुत गरीयो । करीब ४०० वर्ष पुरानो कार्तिक नाच अन्तर्गतको उषाहरण लीलाको कुमार नृत्य प्रस्तुतिमा दर्शक निकै रमाएका थिए । ‘विश्वको सवैभन्दा प्राचीन वियोगान्त नृत्यको रुपमा गिनिज बुकमा ग्रीकको ट्र्याजिक डान्स फर्मलाई लिइएको छ । तर त्यो नाच लोप भइसकेको छ । कार्तिक नाच पनि ट्र्याजिक फर्ममै पर्छ र यो नाच अहिलेसम्म निरन्तर चलिरहेको छ । यो हाम्रो गौरव हो ।’ मन्तव्य राख्ने क्रममा शताब्दि पुरुष संस्कृतिविद्् डा. सत्यमोहन जोशीले कार्तिक नाचको ऐतिहासिक पक्ष कोट्याउनु भयो ।


सोही कार्यक्रममा चर्या नृत्य अन्तर्गतको पंचकपाल नृत्य पनि पहिलो पटक मंचमा प्रस्तुत गरीएको थियो । गुह्य रुपमा रुपमा प्रस्तुत हुने चर्या अन्तर्गतको यो नृत्य वौद्ध परम्परा अन्तर्गत महायान सम्प्रदायभित्र लिइन्छ । मादलको तालमा झ्याउरे नृत्यको प्रस्तुतिमा रघुवंशीले दर्शकको जोडदार तालीको साथमा वान्स मोर सम्म पनि पाए । भारतको इलाहावाद विश्वविद्यालयबाट कत्थक नृत्यमा गोल्ड मेडल प्राप्त गरेका स्वजनले कार्यक्रममा भरतनाट््यम नृत्य त प्रस्तुत गरे नै, साथै पाश्चात्य नृत्य साल्सा डान्समा समेत दर्शकलाई मुग्ध बनाए । साल्सामा स्वजनलाई कलाकार कृपा बज्राचार्यले साथ दिएका थिए । कृष्णले कालिया नागको दमन गर्ने कथा समेटिएको कत्थक नृत्यमा त स्वजन लगातार १८ मिनेट नाचे । अन्तिममा संसारभरीका सबै आमालाई श्रद्धा र आदर प्रकट गर्दै स्वजनले आमा नृत्य प्रस्तुत गर्दै आफ्नो प्रस्तुति सम्पन्न गरे । आमा नृत्य सम्पन्न हुँदा कलाकार स्वजन रघुवंशीकै माता कृष्णशोभा रघुवंशीको मंचमा आगमनपछि माहौल भावुक बनेको थियो ।

कार्यक्रममा नृत्य निर्देशक हनी श्रेष्ठले एकै व्यक्तिले गाएर अथवा बजाएर एकल साँझ गर्नुभन्दा नृत्यमा एकल साँझ गर्नु निकै गा¥हो रहेको बताउनुभयो । ‘यो अरु गायन वा वादनमा जस्तो सजिलो कुरा होइन । एकै व्यक्तिले श्रृङ्गार र भेषभुषामा समेत विविधता देखाउँदै विभिन्न फर्मका नृत्यहरु प्रस्तुत गर्दै नाच्नु भनेको साधारण विषय होइन । नृत्यमा एकल साँझ जो कोहीले आँटन्् सक्ने विषय पनि होइन । तर स्वजन रघुवंशी यसमा सफल भएका छन्् ।’ नृत्य निर्देशक श्रेष्ठले स्वजन रघुवंशीले खुलेर प्रशंसा गरेका थिए । नृत्य निर्देशक संघ नेपालका केन्द्रीय उपाध्यक्ष संजय शर्मा राजोपाध्यायले कलाकार वा कला क्षेत्र देशको गहना नभएको दोहो¥याउँदै राज्यले कला क्षेत्रलाई पाँचौ अंगको रुपमा परिभाषित नगरेसम्म कला क्षेत्रको समुचित विकास हुन नसक्ने कुरामा जोड दिनुभयो । देशैभरका नृत्य निर्देशकहरु संगठित भई नृत्य निर्देशक संघ नेपाल गठन भएको दिन श्रावण २६ लाई राष्ट्रिय नृत्य दिवसको रुपमा घोषणा गर्न संघका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले राज्यसँग माग गर्नुभयो ।
वाङमय शताब्दि पुरुष संस्कृतिविद्् डा. सत्यमोहन जोशी र नृत्य विधामा नेपालका प्रथम महिला प्राध्यापक हनी श्रेष्ठबाट नाटेश्वरको मूर्तिमा पूजा गर्नुका साथै पानसमा बत्ती बालेर कार्यक्रमको संयुक्त रुपमा उद््घाटन गरीएको थियो । कार्यक्रममा कलाकार स्वजन रघुवंशीको परीचयात्मक भिडियो पनि प्रदर्शन गरीएको थियो । कार्यक्रम नृत्य निर्देशक संघ नेपाल, ललितपुर शाखा र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा भएको थियो ।

फोटो – बुद्ध शरण शाही

Loading...