नेपालले पायो थप तीन वटा हवार्इ रुट, विराटनगर, जनकपुर र महेन्द्रनगरबाट जहाज नेपाल भित्रिन सक्ने

काठमाडाैं, ३ असार । भारतले नेपालका लागि थप तीनवटा हवाई रुट खुल्ला गर्ने सहमति जनाएको छ । नेपालले मागेका थप हवाई रुटमामध्ये तीनवटालाई दुईतर्फी प्रयोग गर्न दिने भएको हो । यसअघि भारततर्फबाट नेपालमा जहाज भित्रिन सिमरा रुटमात्र खुल्ला रहेकोमा अब पूर्वका विराटनगर र जनकपुर तथा पश्चिमको महेन्द्रनगर रुटबाट पनि जहाज भित्रिन र बाहिरिन सक्ने छन् ।

बिहीबारदेखि काठमाडौंमा सुरु वार्तामा शनिबार दुई देशका प्राविधिक अधिकारीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपालले मागेको नेपालगन्ज रुटबारे भने भारतले पछि निर्णय दिने जनाएको छ ।

६ पुस ०७३ (२१ डिसेम्बर २०१६) मा दुई सरकारका सम्बद्ध निकायबीच प्राविधिक तहमा वार्ता गरी टुंग्याउने सहमति भएको थियो । पछिल्लो सहमतिअनुसार विराटनगर र जनकपुरबाट ३१ हजार फिटभन्दा माथि उड्ने ठूला जहाजसमेत प्रवेश गर्न र बाहिरिन सक्नेछन् भने महेन्द्रनगर रुटबाट तत्कालका लागि बढी उचाइमा उड्ने जहाजले प्रवेश पाउने छैनन् ।

नेपालले नेपालगन्ज र महेन्द्रनगरबाट बढी उचाइमा उड्ने जहाज प्रवेशमार्ग दिन भारतस“ग प्रस्ताव गरेको थियो । यस विषयमा भारतसँग आगामी भदौसम्म विस्तृत प्राविधिक मूल्यांकन गर्ने सहमति भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार प्राविधिक तहमा भएको सहमति कार्यान्वयन हुन कम्तीमा एक वर्ष लाग्नेछ । अब प्रस्तावित हवाई रुटमा दुवै देशले विस्तृत उडान सुरक्षा मूल्यांकन गर्नुपर्नेछ । उक्त मूल्यांकन कार्य सम्पन्न गरिसकेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)बाट अनुमति लिनुपर्छ । आइकाओबाट अनुमति पाएपछि एरोनटिकल इन्फरमेसन पब्लिकेसन (एआइपी)मा रुट प्रकाशन गर्नुपर्छ । यो सबै प्रक्रियाका लागि कम्तीमा एक वर्षको समय लाग्ने प्राधिकरणको भनाइ छ ।

भारतीय आकाश हुँदै नेपाल आउने अन्तर्राष्ट्रिय उडानका जहाज अहिले सिमरा रुटबाट मात्र प्रवेश गर्न पाउँछन् । नेपालले अहिले प्राप्त गरेका विराटनगर र जनकपुर रुट सिमराभन्दा धेरै टाढा छैनन् । त्यसकारण काठमाडौंस्थित त्रिभुवन विमानस्थल आउने जहाजलाई पूर्वका यी दुई रुटबाट प्रत्यक्ष कुनै फाइदा पुग्दैन । तर, कम्पनीहरूले विराटनगर, जनकपुरजस्ता विमानस्थलबाट क्रसबोर्डर उडान गर्न चाहेमा भने अब सहज हुनेछ ।

महेन्द्रनगरबाट बढी उचाइमा उड्ने जहाजका लागि भारतले प्राविधिक अध्ययन गर्न चाहेको छ । त्यसकारण पश्चिमबाट आउने जहाजले भने फेरि पनि नेपाल प्रवेश गर्न सिमरा नै आइपुग्नुपर्नेछ । त्यसकारण तत्कालका लागि नेपालगन्ज र महेन्द्रनगरबाट क्रसबोर्डर उडान गर्न चाहने कम्पनीका लागि मात्र यो रुट काम लाग्नेछ ।

प्रस्तावित निजगढ विमानस्थलका लागि विराटनगर र निर्माणाधीन पोखरा तथा गौतमबुद्ध विमानस्थलका लागि नेपालगन्ज र महेन्द्रनगर प्रवेश बिन्दु महत्वपूर्ण हुन् । त्यसका लागि अब भारतीय पक्षसँग निरन्तर छलफल जारी राखिने उपमहानिर्देशक पोखरेलले बताए ।

१२ मे २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा हवाई प्रवेश रुटको विषयले प्रवेश पाएको थियो । दुई प्रधानमन्त्रीको संयुक्त वक्तव्यमा हवाई रुटको विषय समेटिएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरी प्राविधिक तहको वार्ताको समय तय गरिएको थियो ।

हाल भारतबाट नेपालमा जहाज भित्रिनका लागि सिमरा रुटमात्रै खुल्ला छ । नेपालबाट बाहिरिन भने महेन्द्रनगर, जनकपुर, विराटनगर, भैरहवा पनि खुल्ला छन् । यस्तै भुटानका लागि मेची र चीनका लागि सगरमाथाको आसपासबाट भित्रने/बाहिरिने रुट तय गरिएको छ ।

Loading...