राजधानीमा यात्रुलार्इ सुविधा दिन यति ठूला बस सञ्चालनमा ल्याइदैछन

काठमाडाैं, ३० जेठ । असार पहिलो हप्तादेखि गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमता भएका ठूला बस सञ्चालन हुने भएको छ।

सामाखुशी यातायात व्यवसायी समितिले यात्रुको चाहना र आवश्यकतालाई हेरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको दिगो सार्वजनिक यातायात सेवामार्फत असार पहिलो हप्तादेखि १७ बस सञ्चालन गर्न लागेको हो।

बस सञ्चालनसँगै नयाँ बसपार्क, गोँगबु, गल्कोपाखा, लैनचौर, जमल, कमलपोखरी, मैतीदेवी हुँदै सिनामंगलसम्मका यात्रुलाई आवतजावतमा सहज हुनेछ।

सामाखुशी यातायात व्यवसायी समितिका अध्यक्ष सानुकाजी प्रजापतिले सात करोड लगानीमा ५० सिट क्षमता भएका १७ ठूला बस सञ्चालन गर्न लागेको जानकारी दिए। “असार पहिलो हप्ता १० बस र त्यसपछि सात बस सञ्चालनमा ल्याउँछौँ,” उनले भने।

सामाखुशी भएर चल्ने माइक्रोबसलाई अन्य स्थानमा स्थानान्तरण गरी सोही रुट हुँदै सिनामंगलसम्म नयाँ बस सञ्चालन गर्न लागेको समितिले जनाएको छ।

सोही रुटमा नयाँ बस सञ्चालनका लागि एशियाली विकास बैंकले एक करोड ९० लाख अनुदान दिएको छ। सोही रुटमा ठूला बस सञ्चालन भएसँगै गोँगबुबाट रत्नपार्क भएर चल्ने २६ माइक्रोबस र सिनामंगल—रत्नपार्क भएर चल्ने ३५ टेम्पो स्थानान्तरण हुनेछन्।

सरकारले पछिल्लो समय उपत्यकामा सवारीसाधन चलाउनका लागि प्राइमरी, सेकेण्डरी र टर्सरी रुट निर्धारण गरेको छ जसमा प्राइमरी र सेकेण्डरी रुटमा ठूला सवारीसाधन तथा टर्सरी रुटमा साना सवारीसाधन सञ्चालन गर्न पाइनेछ।

Loading...