देशका विभिन्न स्थानमा बदली र वर्षा, केही दिनभित्रै मनसुन भित्रने

काठमाडौं ।

प्रिमनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौंसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौंमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ ।

मौसमविद्को भाषामा केही दिनयता नेपालको मौसममा आएको फेरबदल पनि मनसुन सुरु हुनुपूर्वको अवस्था (मनसुन सिनारियो) हो ।

मनसुन सुरु हुने संघारमा रहेकाले प्रिमनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) भइरहेको छ । मनसुन पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गर्छ । पूर्वबाट प्रवेश गरेको मनसुनले देशभर ढाक्छ र वर्षा हुन्छ ।

‘वातावरणीय परिवर्तनले मनसुनमा पनि धेरै फेरबदल हुँदै गएको छ । पूर्वमा धेरै वर्षा हुनुपर्ने हुन्छ । चाँडै (दुई/चार दिनभित्र) नेपालमा मनसुन भित्रने अनुमान गरिएको छ’–मौसमविद् पौडेलले भने ।

सामान्यतः मनसुन सुरु हुन अझै पाँच दिन बाँकी छ अर्थात् जुन १० देखि मनसुन सुरु हुन्छ । तर, हरेक वर्ष यसमा केही दिन फरक हुँदै आएको छ । पछिल्ला पाँच वर्षदेखि १० दिनसम्म मनसुन हेरफेर हुने गरेको छ ।

मनसुनका लागि यी मापदन्ड चाहिन्छ
नेपालमा सामान्यतः मनसुन सुरु हुन निश्चित मौसमी मापदन्ड चाहिन्छ । मौसमविद्काअनुसार मनसुन हुनलाई तिब्बतको आकाशमाथि उच्चचापीय क्षेत्रको विकास हुनुपर्छ ।

भारतीय अकाशको माथिल्लो वायुमन्डलमा ‘ट्रपिकल स्टर्ली’ देखिनुपर्छ । त्यस्तै, बंगालको खाडीबाट जलवाष्पको प्रवेश नेपालमा हुनुपर्छ । उल्लिखित मापदन्ड नपुगेका कारण मनसुन पूर्णसक्रिय बन्न सकेको छैन ।

माथिका मापदन्डसँगै दक्षिणी भारततिर पश्चिमी वायु शक्तिशाली बन्नुपर्ने र उच्च वायुमन्डलमा रहेको ‘जेट स्ट्रिम’ करिब ४० डिग्री उत्तरमा अवस्थित हुनुपर्छ ।

मौसमविद् पौडलकाअनुसार मनसुन ठूलो क्षेत्रमा फैलिएर वर्षा हुन्छ । तर, अहिले ठूलो ठाउँ समेटेर वर्षा भएको छैन । सीमित ठाउँमामात्रै वर्षाकेन्द्रित छ ।

Loading...