पीएम कप: अार्मी विजयी, प्रदेश ६ प्रतियाेगिताबाट बाहिरियाे

काठमाडौं ।

त्रिभुवन आर्मी क्लब एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको समूह ए बाट आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । समूह बी बाट भने प्रदेश–६ प्रतियोगिताबाट बाहिरिएको छ ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएका खेलहरुमा आर्मीले प्रदेश–४ लाई र प्रदेश–५ ले प्रदेश–६ लाई समान ९–९ विकेटले हराए ।

समूह ए अन्तर्गत मूलपानी मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–४ २९ ओभरमा मात्र ७६ रन बनाउँदै अलआउट भयो । प्रदेश–४ का लागि अनिल गुरुङले ४२ रन बनाए भने बाँकी खेलाडी सस्तैमा आउट भए । प्रदेश–४ का ६ खेलाडी शून्यमै आउट भए ।

प्रदेश ४ को इनिङ ध्वस्त पार्न आर्मीका विक्रम सोब, साहव आलम र सागर पुनले समान ३–३ विकेट लिए ।
जवाफमा आर्मीले १६.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा ग-यो । आर्मीको जितमा सागर पुनको २६, अनिल मण्डलको २८ र नरेश बुढाऐरको १० रनको योगदान रह्यो । अलराउण्ड प्रदर्शन गरेका सागर पुन खेलको म्याच अफ द म्याच चुनिए ।

आइतबार नै त्रिवि मैदान कीर्तिपुरमा भएको खेलमा प्रदेश–५ ले पनि प्रदेश–६ बिरूद्द ९ विकेटको सहज जित हासिल ग-यो । जितसँगै प्रदेश–५ ले सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्यो । पराजित भएको प्रदेश–६ भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह बी को चार खेलबाट प्रदेश–६ ले १ अंकमात्र जोड्न सकेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–६ २२.५ ओभरमा ५५ रनमा अलआउट भयो । प्रदेश–६ का लागि विजय विष्टले १७ रन बनाए भने बाँकी कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

प्रदेश–६ लाई ५५ रनमै अल आउट बनाउने क्रममा प्रदेश–५ का कप्तान शक्ति गौचनले शानदार बलिङ गरे । ६ ओभर बलिङ गरेका गौचनले ३ मेडन राख्दै ४ रन दिएर ३ विकेट लिए । उनी खेलको म्यान अफ म्याचसमेत चुनिए । त्यस्तै विक्रम भुसालले पनि ३ विकेट नै लिए ।

जवाफमा प्रदेश–५ ले १० ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा शंकर रानाले २९ तथा सन्दिप सुनारले २७ रन बनाए ।

Loading...