घर नै नबनार्इ कर्मचारीलार्इ घुस खुवाएर सरकारी पैसा हजम

काभ्रे, २० जेठ । इन्जिनियरको बदमासीले काभ्रेको डाँडापारीमा घर नबनाइ दोस्रो किस्ताको लागि नाम निस्केको खुलासा भएको छ । जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका–४ डाँडागाउँमा घरै नबनाइ दोस्रो किस्ताको रकम निकासा भएको खुलेको हो ।

स्थानीयहरूसँग पैसा लिएर दोश्रो किस्ताको लागि रकम निकासा गरिदिन्छु भन्दै वडा नं ४ हेर्ने प्राविधिक हर्ष बमले एउटा घरको ५ देखि १० हजार रुपैयाँ घुस लिएर पास गरेको स्थानीयले बताएका छन् । भूकम्पपीडितसँग डाँडागाउँकै निशान मोक्तान र वीरमान मोक्तानले बार्गेनिङ गर्ने र प्राविधिक बमसँग कुरा मिलाएर रकम लिने गरेका थिए । जब भूकम्पपीडित बुद्धिमाया थिङको दोस्रो किस्ताको लागि नाम निकाल्दिन्छु भनेर पैसा लिए र पछि नाम निक्लिएन तब यो घटना सार्वजनिक भएको थियो ।

श्रीमान विदेश गएको र आफू पनि गाउँमा बस्न नपाउने भएकाले अहिलेसम्म घर नबनाएकी बुद्धिमायासँग दोस्रो र तेस्रो किस्ताबापतको रकम उपलब्ध गराइदिएको भन्दै ५० हजार रुपैयाँ मागेका वीरमानलााई पहिलो चरणमा बुद्धिमायाले १० हजार रुपैयाँ दिएकी थिइन् । बाँकी ४० हजार भूकम्पपीडितको खातामा रकम आएपछि दिने सहमति थियो । बुद्धिमायाले भनिन्, “जेठसम्ममा ३ लाख रुपैयाँ खातामा आउँछ भनेका थिए, अब नआउने भयो रे अब मलाई तिनिहरूले १० हजारको डबल फिर्ता गर्नुपर्छ ।”

बुद्धिमायाजस्तै सोमबहादुर थोकरसँग ३० हजार, दामोरानी स्याङतानसँग ३० हजार, सुमित वाइवासँग ४० हजार, सोनम वाइवासँग ५० हजार, ज्ञानबहादुर स्याङतानसँग ३० हजार निशानले लिएका थिए भने बुद्धिमाया थिङको रकम वीरमानले लिएका थिए ।

साविक डाँडागाउ गाविसको ८ र ९ नं. वडामा भूकम्पपीडितहरूले घर नै नबनाइ दोस्रो किस्ता लिएको देखिन्छ । घर नबनाइ दोश्रो किस्ता लिनेमा देवान सिं लामा, दिलबहादुर गुरुङ, माइलीमाया वाइवा, ज्ञानीमाया मोक्तान, इन्द्रकुमारी मोक्तान, विक्रम जिम्बा, पदम बहादुर मोक्तान, कान्छीमाया मोक्तानलगायत रहेका छन् । प्राविधिक बमले पनि पैसा लिएको स्वीकार गरेका छन् । उनले प्रत्यक्ष रूपमा पीडितहरूसँग पैसा नलिए पनि निशान र वीरमानमार्फत पैसा लिएको स्वीकारेका हुन् । उनले एक जनाबराबर ५ देखि १० हजारसम्म रकम लिएको तर भूकम्प पीडितहरूले भने जस्तो ५० हजार, ३० हजार भने नलिएको बताए । अझ रोचक कुरा त प्राविधिक बमले जुन वडाको वडाअध्यक्षलाई हस्ताक्षर गराउनुपर्ने हो त्यो वडाको वडा अध्यक्षलाई हस्ताक्षरै नगराइ वडा नं ३ का अध्यक्षलाई हस्ताक्षर गराएको पाइएको छ । “मैले प्रत्यक्षभन्दा पनि निशान र वीरमानसँग पैसा लिएँ, तर भूकम्पपीडितले भनेजस्तो ३० हजार, ४० हजार लिएको छैन ।” बमले भने ।

खानीखोला गाउँपालिका वडा नं ४ का वडाअध्यक्ष वीरमान लामाले भने यसबारे आफूलाई केही थाहा नभएको भन्दै पन्छिए । एउटा प्राविधिकले ३ र ४ वडा हेरिरहेको र कहिलेकाहिं खाली फारममा पनि हस्ताक्षर गराउने भएकोले किन र कुन प्रयोजनको लागि हस्ताक्षर गराएको भन्नेबारे आफूलाई थाहा नभएको उनले बताए । अब भने सत्यतथ्य बुझेर आवश्यक कारवाही गर्ने वीरमानले बताए ।

मापदण्डबिनै रकम उपलब्ध भएको भन्दै स्थानीयहरूले वडाअध्यक्ष वाइबा र त्यस वडामा खटिने प्राबिधिक बमको मिलेमतोमा रकम निकासा भएको आरोप लगाएका छन् । उनीहरूले निष्पक्ष छानबिनको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यालय धुलिखेल, जिल्ला प्रशासन कार्यालय काभ्रे, जिल्ला समन्वय समिति काभ्रेमा उजुरी दिएका छन् ।

Loading...