क्लब फुटबलमा रियल म्याड्रिडको जादुमयी कीर्तिमान

काठमाडाैं । क्लब फुटबलमा स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडको सफलताले विश्वलाई आश्चर्यचकित पारेको छ। अझ रियलले सन् २०१४ यता प्राप्त गरेका उपलब्धि जो कसैलाई सहज लाग्दैन। यो सफलता पाउन जो कोहीलाई सजिलो छैन। रियलले पछिल्लो समय आफूलाई वास्तवमै रियल भएको प्रमाणित गरिरहेको छ। त्यो मात्र रियल म्याड्रिड हो, जसले जित्नका लागि मात्र खेल्छ भनेर।

अझ भन्ने हो भने, रियल म्याड्रिडका लागि जित खासै ठूलो कुरा होइन। पछिल्लो समय विश्वका फुटबल प्रेमी ठान्छन्, रियल उभिएको ठाउँमा अरू फिक्का हुन्। रियलले चाह्यो भने जुनसुकै खेल जित्छ। सायद पछिल्ला घटनाक्रम यस्तै देखिएको छ। तर रियलले जित्नका लागि कुनै पनि चुनौतीको सामना गर्नु पर्दैन भन्नु चाहिँ गलत हुनेछ।

च्याम्पियन्स लिग फुटबलको फाइनलमा बलियो प्रतिद्वन्द्वी लिभरपुलसँग भिडेको रियलले फेरि एक पटक आफूलाई अब्बल सावित गरेको छ। न्युटल भेन्यु युक्रेनको ओलम्पिक स्टेडियममा गत शनिबार राति खेलिएको फाइनल खेलमा रियलले चर्चित इङ्लिस टोली लिभरपुललाई ३—१ गोलले हराउँदै नयाँ कीर्तिमान रच्यो। रियलले च्याम्पियन्स लिगमा सबैभन्दा बढी उपाधि जित्ने आफ्नै कीर्तिमानमा अर्को कोसेढुंगा खडा गरेको छ।

च्याम्पियन्स लिग रियलको यो लगातार तेस्रो जित हो। उसले सन् २०१६ र २०१७ मा पनि च्याम्पियन्स लिग जितेको थियो। उपाधिमा ह्याट्रि«क गरेको रियलले च्याम्पियन्स लिग उपाधि संख्या सर्वाधिक १३ बनाएको छ। रियलको यस सफलतालाई भेट्न अब जो कसैलाई कठिन बन्नेछ।

गत शनिबार भएको खेलको प्रारम्भमा लिभरपुलले सनसनीपूर्ण प्रदर्शन गर्‍यो। ३०औं मिनेटमा लिभरपुलका विख्यात स्ट्राइकर मोहमद सलाह घाइते बन्दै मैदान छाड्न बाध्य भए। त्यसपछि रियलको भाग्य चम्किएको थियो। च्याम्पियन्स लिगको फाइनल खेल सलाहका लागि जिन्दगीभर दुःखको क्षण बन्यो। प्रिमियर लिगका सर्वोत्कृष्ट खेलाडी सलाह इजिप्टलाई रुस विश्वकपमा पुर्‍याउने नायक पनि हुन्। काँधमा गम्भीर चोट लागेका उनी विश्वकपमा देखिनेमा पनि दुविधा छ।

पहिलो हाफमा सलाहलाई गुमाएर पनि गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा रियलको कब्जामा रह्यो। जहाँ लिभरपुलका गोलरक्षक लोरिस क्यारियस फिक्का देखिए। ५१औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। तर, चार मिनेट लगत्तै लिभरपुलका साडियो मानेले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

बराबरीपछि रक्षात्मक रणनीति अपनाउँदै लिभरपुलले रियलको सर्वोच्चता हल्लाउने प्रयास पनि गर्‍यो। त्यसपछि ६१औं मिनेटमा इस्कोको स्थानमा मैदान छिरेका ग्यारेथ बेल उत्कृष्ट लयमा देखिए। उनले लगातार दुई गोल ठोक्दै रियलको जित सुनिश्चित पारे। बेलको दुइवटै गोल जादुमयी थियो। लिभरपुल अन्ततः आफ्नो रणनीतिमा असफल बन्यो। उसका गोलरक्षक क्यारियसले गम्भीर दुई वटा गल्ती गरे।

च्याम्पियन्स लिग फाइनलमा रियलले यस पटक पनि अघिल्लो संस्करणको जस्तै झल्को देखाएको थियो। गत संस्करणको फाइनलमा रियलले इटालियन महारथी युभेन्ट्ेसलाई ४—१ ले हराएको थियो। त्यतिबेला युभेन्ट्सले सुरुवातमा सनसनीपूर्ण प्रदर्शन गरेको थियो। तर, रियलले पुनरागमन गर्दै उपाधि रक्षा गरेको थियो। युभेन्ट्सलाई हराउँदा रियलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दुई, कासिमिरो र मार्को एसेनसियोले एक एक गोल गरेका थिए।

यस पटकको फाइनलमा रोनाल्डो त्यति जम्न सकेनन्। तर, मैदानमा उनको उपस्थितिले टोलीलाई थप बलियो बनायो। रियलको उपाधि ह्याट्रि«कसँगै रोनाल्डोले पनि व्यक्तिगत कीर्तिमान रचे। उनी पाँच पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो खेलाडी बनेका छन्। उनले रियलबाट चार र म्यानचेस्टर युनाइटेडबाट एक पटक च्याम्पियन्स लिग उपाधि जितेका छन्।

रोनाल्डोले यसअघि तीनवटा च्याम्पियन्स लिगको फाइनलमा गोल गर्दै आफ्नो टोलीलाई उपाधि दिलाएका थिए। उनले सन् २००८ र सन् २०१४ को च्याम्पियन्स लिगको फाइनलमा पनि गोल गरेका थिए। सन् २००८ मा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले उपाधि जित्दा रोनाल्डो टोलीका महŒवपूर्ण सदस्य थिए। ३३ वर्षीय रोनाल्डो च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। यस सिजनमा १५ गोलसहित उनी सर्वाधिक गोलकर्ता बने। रोनाल्डोले च्याम्पियन्स लिगमा एक सय २० गोल पुर्‍याइसकेका छन्।

रोनाल्डोप्रेरित रियलको यही रवाफिलो प्रदर्शनमा विश्वभरका करोडौं फुटबलप्रेमी साक्षी बने। तर, सबैको एउटै खुलदुली रह्यो आखिर रियलमा के छ त जादु ? पोर्चुगल राष्ट्रिय टोलीका नायक रोनाल्डोको ध्यान अब रुस विश्वकपतर्फ मोडिएको छ। रुसमा उनको खेल हेर्न करोडौं समर्थक आतुर छन्।

जिदानको जादु

रियलको पछिल्ला उपलब्धिमा प्रशिक्षक जिनेदिन जिदानको भूमिका झनै उच्च कोटीको छ। च्याम्पियन्स लिग उपाधिले जिदानलाई सफल प्रशिक्षकको श्रेणीमा उभ्याएको छ। रियलको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेको करिब ३० महिनामा जिदानले क्लबलाई ठूला उपाधि दिलाएका छन्। फ्रान्सेली राष्ट्रिय टोलीका पूर्वखेलाडी जिदान रियल म्याड्रिडका पनि पूर्वखेलाडी हुन्।

जिदानले क्लबलाई दिलाएको यो लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि हो। यसैगरी उनले रियल म्याड्रिडलाई स्पेनिस ला लिगा, क्लब विश्वकप र युरोपियन सुपर कपजस्ता महŒवपूर्ण उपाधि दिलाएका छन्। उनी कुनै पनि क्लबलाई लगातार तीन पटक ‘च्याम्पियन्स लिग’ को उपाधि दिलाउने विश्वकै एकमात्र प्रशिक्षकसमेत बनेका छन्। जिदानले रियलमा अनौठो प्रवृत्ति भित्र्याएका छन्। जुन प्रवृत्ति हो, अन्तिम समयसम्म हार नखाने र जसरी पनि जितेरै छाड्ने। लिभरपुलसँगको फाइनल अघि उपाधि रक्षा गर्न गाह्रो हुने बताएका जिदानले बेलको प्रदर्शनलाई खुलेर तारिफ गरे। ला लिगामा सोचेजस्तो गर्न नसकेको रियललाई च्याम्पियन्स लिगमा पुगेर ह्याट्रिक गराउँदा उनी उत्साहित पनि देखिएका छन्। ‘उपलब्धिबाट खुसी छु। हामीले अझ धेरै गर्न बाँकी छ,’ ४५ वर्षीय जिदानले भनेका छन्।

खेलाडीका रूपमा जिदानले दुईपटक युभेन्ट्सको तर्फबाट च्याम्पियन्स लिगको फाइनल खेले। तर, दुवैपटक उनको टोली फाइनलमा पराजित भएको थियो। सन् २००२ मा पहिलो पटक उनले रियल म्याड्रिडको तर्फबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए। त्यतिबेला उनी सम्मिलित रियल म्याड्रिडले फाइनलमा जर्मन क्लब बायर लेभरकुसेनलाई २—१ गोलले हराएको थियो।

रियल म्याड्रिडले सन् २०१४ मा च्याम्पियन्स लिगको फाइनल जित्दा उनी टोलीका तात्कालीन प्रशिक्षक कार्लो एन्सेलोट्टीका सहायक थिए। उनले सन् २०१६ मा राफा बेनिटेजको स्थानमा रियल म्याड्रिडको प्रशिक्षकको जिम्मेवारी पाएका हुन्। जिदानले सुरुमा रियलकै ‘बी’ टिममा दुई वर्ष प्रशिक्षण गरेका थिए। वास्तवमा अहिले रियललाई रियल बनाउन जिदानको जादुमय प्रशिक्षण धेरै फापेको छ।

Loading...