किन दिए जिनेदिन जिदानले रियल म्याड्रिडबाट अकस्मात राजीनामा

एजेन्सी । रियल म्याड्रिडलाई लगातार तीनपटक युरोपियन च्याम्पियन्स लिग उपाधि दिलाएका प्रशिक्षक जिनेदिन जिदानले बिहीबार अप्रत्यासित रूपमा पदबाट राजीनामा दिएका छन् । च्याम्पियन्स लिगमाथि ह्याट्रिक लगाएको पाँच दिनपछि जिदानले क्लबका अध्यक्ष फ्लोरेन्ट परेजको उपस्थितिमा पत्रकार सम्मलेन गरी राजीनामा दिएको जानकारी गराएका हुन् । सन् २०१६ मा जिदान रियलका प्रशिक्षक बनेका थिए ।

जिदानले रियलमा धेरै परिवर्तन आवश्यक रहेको जनाएका छन् । त्यही परिवर्तनस्वरूप नै आफूले प्रशिक्षकबाट राजीनामा दिएको जिदानले बताएका छन् । ‘मेरो नजरमा रियलमा नयाँ कुरा चाहिएको छ, त्यो नयाँ पक्ष नै प्रशिक्षक पनि हो, जस्तो लाग्छ,’ जिदानले राजीनामा दिनुको मुख्य कारण बताउँदै भने, ‘तीन वर्ष एकै स्वरूपमा रियल हिँडिरहेको छ, अबको आवश्यकता परिवर्तन हो ।’

४५ वर्षीय जिदानले क्लबलाई सही समयमा छाड्ने निर्णय गरेको बताए । ‘यो समय नै क्लब छाड्नु सहीजस्तो लाग्छ, रियललाई मैले च्याम्पियन्स लिगमा लगातार तीनपटक च्याम्पियन बनाएँ, त्योभन्दा ठूलो सफलता अरू हुनै सक्दैन ।’

जिदानले अध्यक्ष परेजप्रति आभार व्यक्त गरेका छन् । ‘मलाई खेलाडीदेखि मुख्य प्रशिक्षकसम्म विश्वास गर्नुभयो, क्लबका अध्यक्ष परेजलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु,’ पत्रकार सम्मेलनमा जिदानले भने, ‘स्पेनिस ला लिगा च्याम्पियन हुन नै सबैभन्दा ठूलो सफलता थियो ।’ सन् २०१२ पछि रियलले ला लिगा उपाधि जितेको थियो । उनले कोपा डेल रेमा राम्रो प्रदर्शन गर्न नसक्दा दुःख लागेको बताए ।

Loading...