घरसँगै आगोले श्रीमती पनि जलाइदिएपछि कर्णबहादुर यसरी भक्कानिए

दाङ, १७ जेठ । दाङको गढवा गाउँपालिका वडा नं. ३ सुपैलाका कर्णबहादुर रावत मंगलबार बेलुका गाउँ घुम्न निस्किए ।

मजदुरी गरेर जीविका चलाउँदै आएका कर्णबहादुर घर बाट निस्कँदा श्रीमती लक्ष्मी रावतलाई खाना बनाउन भनेका थिए । तर, राति ९ बजे घर फर्कदा कर्णबहादुरले घर जलिरहेको देखे । त्यही आगोमा श्रीमती लक्ष्मी रावतको जलेर मृत्यु भयो ।

‘लक्ष्मीको शव आगो बाल्ने अगेना नजिक जलेको अवस्थामा भेटिएको छ’ ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रमोद क्षेत्रीले भने ‘खाना बनाउन आगो बाल्दा घरमा आगो सल्किएको हुनुपर्छ, खरले छाएको घर हुनाले आगोले सजिलै टिप्यो ।’

कर्णबहादुरको घर मात्रै जलेन श्रीमती पनि गुमाउनु पर्‍यो । कर्णबहादुरका दुई छोरा छन् । दुवै छोरा भारतमा कमाउन गएका छन् । अहिले कर्णबहादुर एक्लो भएका छन् ।

कर्णबहदुर सँगै उनका छिमेकीका घरमा पनि आगो लाग्न पुग्यो । ५ घर र तीन गोठमा आगो लागेर खरानी भएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । आगोले कर्णबहादुरसँगै सेतुलाल रावत, बसन्त रावत, गोपाल रावत र रमेश रावतको घर गोठ खरानी बनाएको छ ।

आगलागीबाट २५ लाख बरावरको क्षति भएको छ । स्थानीय बासिन्दा, प्रहरी र लमही नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो । आगोले घरबास खरानी बनाएपछि पीडितको विचल्ली भएको छ ।

गढवा गाउँपालिकाले आगलागी पीडितलाई तत्कालका लागि राहत सहयोग गरेको छ । गाउँपालिकाका अध्यक्ष शहजराम यादवले बुधबार नै पीडितलाई राहत वितरण गर्न सुपैला पुगे ।

मृतक परिवारलाई किरिया खर्च बापत २५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ ।

तत्कालको लागि अन्य पीडितहरुलाई प्रति परिवार ५० किलो चामल, दाल, नुन, तेल राहत प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष यादवले जानकारी दिए । गाउँपालिकामा रहेको विपद् राहत कोषबाट पीडितहरुलाई राहत प्रदान गरिएको छ ।

Loading...