कृष्ण सेन दास र गुलाम संस्कृति विरुद्धका सशक्त योद्धा तथा जनपक्षीय पत्रकारिताका आदर्श

पत्रकार शर्मा इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

हेटौडा, १३ जेठ । क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ ।

इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा एक कार्यक्रमका बीच उक्त पुरस्कार वितरण गरिएको हो । सो अवसरमा पाँच हजार पाँच सय पचपन्न रुपैयाँ राशीको पुरस्कार वितरण गर्नुका साथै जिल्लाका विविध सम्पर्क सूचनाहरु समेटेर तयार गरिएको फोन डायरीको समेत विमोचन गरिएको छ ।

पुरस्कार वितरण समारोहमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि प्रभात चलाउनेले कृष्ण सेन सांस्कृतिक योद्धा, लेखक, साहित्यकारका रुपमा मात्र नभई एक महान स्वप्न द्रष्टा भएको बताए । सधै साधा जीवन ब्यतित गरेका सेन शब्द र कर्मका उचित मेल भएका व्यक्तित्व भएको बताउँदै प्रमुख अतिथि चलाउनेले सेनको जीवनबाट नेपाली पत्रकारिता र पत्रकारहरुले धेरै कुरा सिक्नुपर्ने बताए । कृष्ण सेनसँग आफ्नो सहकार्य र हिरासतमा सँगै रहेका बेलाको अनुभूति सुनाउँदै चलाउनेले सेनले आफ्नो विचार, आस्था र स्वाभिमानमा कहिल्यै पनि सम्झौता नगरेको बताए । नागरिकको अधिकार रक्षा, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षामा प्रतिबद्ध भई लाग्ने क्रममा नै उनको कलम र बोलीबाट त्रसित भएर शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालीन सरकारले सेनलाई कुटी कुटी हत्या गरेको उनले बताए । नेपालको सत्ता राजनीतिमा सामन्तवाद गहिरोसँग हावी रहेको बताउँदै चलाउनले कार्यकर्ताले विचारको बहस गरेको देख्नै नसक्ने र आफ्ना कार्यकर्ताहरुलाई गुलाम मात्र बनाउने प्रवृति हावी रहेको बताए । कृष्ण सेन गुलाम र दास संस्कृतिका विरुद्ध न्याय, समानता र स्वाधीन संस्कृति र जनपक्षीय पत्रकारिताका उच्च आदर्श भएको उनको भनाई थियो । 

कार्यक्रममा बोल्दै पुरस्कृत हुने बरिष्ठ पत्रकार नवराज शर्माले कृष्ण सेन सबैको आदर्श भएको बताए । कृष्ण सेनले सधै आफूलाई जनताको पक्षमा उभ्याएको बताउँदै शर्माले सेनको जीवनबाट सबैले सिक्नुपर्ने बताए । उनले क्रान्तिकारी पत्रकार संगठनले आफूलाई पुरस्कृत गरेकोमा गर्वको अनुभूति गरेको बताए ।

त्यसैगरी नेपाल पत्रकार महासंघका ३ नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्टले संगठनले सही व्यक्तिलाई पुरस्कृत गरेको भन्दै जनताका पक्षमा कलम चलाएमा सम्मान पाइन्छ भन्ने कुराको अनुभूति बनाए ।

कार्यक्रममा प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, प्रेस सोसाइटी, मिडिया नेपाल, क्रियाशील पत्रकार महिला, तामाङ पत्रकार संघ, चलचित्र पत्रकार संघलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Loading...