भीम रावलको धम्कीपछि ओली-प्रचण्डलाई आपत, ४ स्थायी समिति र ३ केन्द्रीय सदस्य थपिए (लिस्टसहित)

काठमाडौं, ८ जेठ ।

केपी ओलीले एमालेका तर्फबाट आफुखुसी केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै भीम रावलले धम्की दिएपछि उनकै सिफारिसअनुसार ७ नम्बर प्रदेशबाट ३ केन्द्रीय सदस्य हेरफेर गरिएको छ ।

अन्य ३ जनासहित सोमबार बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले ६ जनाको नाम हेरफेर गरेको हो । यसअघि सार्वजनिक गरिएका पुण्य गौतम, साध्यबहादुर भण्डारी र दयालबहादुर शाही हटाएर राजेन्द्रसिंह रावल, लालबहादुर विक र दीपक देवकोटालाई मनोनीत गरिएको छ ।

त्यस्तै,नेकपा अण्डरलाइनको स्थायी समितिमा एमालेबाट चार नेताको बढुवा गर्ने अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी भएको छ  ।

तत्कालीन पार्टीमा पोलिटब्युरो सदस्य रहेका बेदुराम भुसाल, रघुजी पन्त र विष्णु रिमाल साथै केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई स्थायी समिति सदस्यमा मनोनीत गर्ने समझदारी भएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

४५ सदस्यीय स्थायी समितिमा पूर्वएमालेका तर्फबाट २६ जनामध्ये अमृतकुमार बोहरा, केशव बडाल, सोमनाथ प्यासी आमन्त्रित सदस्यका रूपमा रहने भएपछि रिक्त पदमा उनीहरूलाई मनोनीत गर्न लागिएको केन्द्रीय सचिवालयका एक सदस्यले बताए ।

अर्का आमन्त्रित सदस्य डा.पुष्प कँडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएकाले राजीनामा दिइसकेका छन् ।

यसैबीच एमाले र माओवादी केन्द्रका तल्ला तह तथा जनवर्गीय संगठन एकीकरण र व्यवस्थापनको मापदण्ड तयार पार्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको पार्टी सचिवालय बैठकले मातहतका कमिटीको एकता र व्यवस्थापनको मापदण्ड बनाएर व्यवस्थापनका लागि कार्यदल गठन गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

कार्यदलले तल्ला तहका कमिटी, प्रदेश, जिल्लासहितका स्थानीय कमिटीका साथै भ्रातृसंगठन, जनसंगठन, पेसागत संगठनलगायतको एकीकरणको मापदण्ड तयार पार्नेछ ।

अण्डरलाइनका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउँ, वडासम्म एकीकरणका लागि पार्टीको अन्तरिम विधानको अधिनमा रहेर नियमावली मस्यौदा गर्न पौडेलको संयोजकत्वमा कमिटी गठन भएको बताए । समितिमा देव गुरुङ, बेदुराम भुषाल र खिमलाल देवकोटा सदस्य रहेका छन् ।

यसैगरी, सातवटै प्रदेश तथा प्रवासका संगठन एवं कमिटीहरूलाई एकीकरण कसरी गर्ने भन्ने विषयमा सुझाव संकलन गर्न बैठकले कमिटी गठन गरेको छ । सो कमिटीमा पूर्व पार्टीहरूका इन्चार्ज, संयोजक, सहसंयोजक रहनेछन् । यो कमिटीले पार्टीलाई संगठन एकीकरणका लागि आवश्यक सुझाव दिनेछ ।

त्यसैगरी, भ्रातृसंगठन, पेसागत संगठनहरूको एकताका लागि पनि छुट्टै सुझाव संकलन कमिटी गठन भएको छ । यो कमिटीमा सम्बन्धित पूर्वपार्टीका सम्बन्धित विभागका इन्चार्ज, मोर्चा प्रमुख रहनेछन् । बैठकद्वारा गठन गरिएका सबै कमिटीहरूलाई १५ दिनको समय दिइएको प्रवक्ता श्रेष्ठले बताए ।

एकीकृत पार्टीको केन्द्रीय कार्यालय बैठकले तोक्न सकेको छैन । धुम्बाराही र पेरिसडाँडामध्ये कुन कार्यालय बनाउने भन्ने निर्णयको जिम्मा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई दिइएको छ । पार्टीको पहिलो सचिवालय बैठकले पार्टीको मूल राजनीतिक प्रतिवेदन र अन्तरिम विधान प्रकाशन गर्ने निर्णय गरेको छ ।

Loading...