बेमौसमी वर्षा र असिनाले बझाङमा करोडौंको नोक्सान

बझाङ, ७ जेठ ।

बेमौसमी वर्षा र असिनापानीले बझाङ जिल्लामा करोडौँको नोक्सान भएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

वैशाख १९ गते बुधबार, २२ गते शनिबार र २४ गते सोमबार परेको असिना र वर्षाका कारण बझाङ जिल्लाभरी झण्डै ५ करोड रुपैयाँ बराबरको नोक्सान भएको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेश केसीले बताए ।

किसानहरुले हिउँदे बाली भित्र्याउने तयारी गरिरहेका बेला आएको असिना र पानीले ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका सबै गाउँपालिकामा असिना परेका कारण गहुँ, जौ, मुुसुरो र तरकारी बालीमा ठूलो क्षति भएको केसीले बताए ।

उनका अनुसार वैशाख महिनामा परेको असिना पानीका कारण जयपृथ्वी नगरपालिकामा ७५ लाख बराबरको बालीमा क्षति पुगेको छ भने छविसपाथिभेरा गाउँपालिका वडा नम्बर १ र २ मा ४० लाख बराबरको, वडा नम्बर ७ मा ८० लाख बराबरको, वडा नम्बर ६ मा ४० लाख गरी जम्मा १ करोड ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

यस्तै, यता थलारा गााउँपालिकामा ६५ लाख बराबरको अन्नबाली असिना पानीले क्षति गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

खप्तड छान्ना गाउँपालिकामा ८० लाख, दुर्गाथली गाउँपालिकामा २० लाख र बुंगल नगपालिकामा ३० लाख गरी जम्मा ४ करोड ३० लाख बराबरको गहुँ, तरकारी बाली, फलफुल नष्ट गरेको हो ।

असिना पानीले भर्खरै फुलेका स्याउ, नास्पाती, आँप, आरु कुलम लगायतका फलफुल पूर्ण नष्ट गरेको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ । वरिष्ठ कृषि विकास अधिकृत केसीका अनुसार स्थलगत अनुगमन भइरहेकाले क्षतिको विवरण बढ्न सक्छ ।

बाढीले बगाएको हिलो पसेर जिल्लाभर ४० भन्दा बढी घर, गोठ र पसलमा समेत क्षति पुगेको थियो । असिनाले चुटेर र बाढीले बगाएर जिल्लाभर ४० भन्दा बढी पशु चौपाया मरेका थिए ।

Loading...