एमाले र माकेको एकताबारे विप्लवको कडा टिप्पणी

काठमाडौं, ४ जेठ । नेकपाका महासचिव विप्लवले एमाले र माओवादी केन्द्रबीचको एकता कम्युनिस्ट आन्दोलनलाई अध्याँरोतिर धकेल्ने गठजोड मात्रै भएको बताएक छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले उक्त एकता कम्युनिस्ट आर्दशबाट च्युत भएको घोर अवसरवादी संशोधनवादीहरुको एकता भएको बताएका छन्।

महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ- “यी दुवै आफू क्रान्तिकारी हुँदा एकअर्कालाई दुश्मन भन्ने गर्दथे तर आज जब दुवै लुटेरा पुँजीवादी व्यवस्थामा प्रवेश गरेर सामाजिक दलाल पुँजीवादीमा पतन हुन पुगे तब एकअर्काका सुखदुखका साथी, कम्युनिस्ट र कमरेड भन्दै एकताको नाटक रच्न पुगेका छन् । यिनीहरुको एकता कम्युनिस्ट एकता होइन कम्युनिस्ट आदर्शबाट च्युत भएका घोर अवसरवादी संशोधनवादीहरुको एकता हो । उनीहरुको एकता कम्युनिस्टहरुको एकता होइन । क्रान्तिबाट भागेर पुँजीवादको पालेमा पतन भएका संशोधनवादीहरुको गठजोड हो । विचार मरेको तुच्छ स्वार्थ बोकेका जनघाती र राष्ट्रघातीहरुको घोर मिलाप मात्र हो ।”

यो एकतालाई अर्को भाषामा टाट पल्टिएको बैंकहरुको होल्डिङ व्यापारी संघको विलयबाहेक अरु भन्न नमिल्ने उनको भनाइ छ । उनले अगाडि भनेका छन्- “शुरुमै दुई पार्टी संघको घोर अवसरवादी संशोधनवादी सिण्डिकेटधारी संरचना बोकेर कही नभएको जात्रा गर्दै दुई अध्यक्ष प्रणाली खडा गरेर कुहिएको पार्टीले के नयाँ प्रणालीको हल्ला गर्ने । यो त कम्युनिस्ट आन्दोलनलाई अँध्यारोतिर धकेल्ने व्यर्थको गठजोड मात्र हो”

माके भर्खरको महान् जनयुद्धको ओज, गरिमालाई मूल्यबोध गर्न नसकेर, शहीदका रगतको टाटा नबस्दै रनाहमा परेर साम्राज्यवादी दलाल संसदवादी पुँजीवादको टाङमुनि टाउको घुसार्न पुगेको कायर भगौडा पार्टी भएको महासचिव विप्लवले बताएका छन। साथै एमाले-माओवादी दुवै क्रान्ति, बलिदान, शहीद, बेपत्ता तथा घाइते योद्धालाई कहिल्यै नभुल्ने गरी धोका र गद्दारी गर्ने समूहहरु भएको उनको भनाइ छ ।

विप्लवले एमाले–माके एकतालाई भत्ता र कुरुप चित्र भएको भन्दै प्रचण्ड माओवादीको सम्पूर्ण रुपमा विसर्जन भएको बताएका छन् । “यो एकताको सबै भन्दा भद्दा र कुरुप चित्र भनेको प्रचण्ड माओवादीको सम्पूर्ण रुपले विसर्जन हो ।” विज्ञप्तिमा भनिएको छ- ” प्रचण्डहरु यो आत्मासमर्पणको खाडलमा जाकिन्छन् भन्ने कुरा पहिला नै देखेको र भनेको पनि हो । हामीले उनीहरुको गडबढीलाई विचलन देखेर नै उनीहरुबाट विद्रोह गरेर क्रान्तिकारी पार्टीको पुनर्गठन गर्ने पहल गरेका हौं ।”

ओली र पुष्पकमल दाहालले जतिसुकै शान्ति, स्थिरता र समृद्धिको हावा चलाए पनि त्यो संशोधनवादी सामाजिक दलाल पुँजीवादीहरुको स्याल हुईया मात्रै भएको उनको ठोकुवा छ । महासचिव विप्लवले अगाडी भनेका छन्- “उनीहरु दलाल पुँजीवादमा पुगेका सामाजिक दलाल, दलाल पुँजीवादी व्यवस्था आफैँमा शोषण, दमन र उत्पीडनको अर्को नाम हो र त्यो आफैँमा असाध्यै अस्थितरता र विपत्तिको कारण हो । त्यसैले यो व्यवस्थामा केपी र पिकेको भगवानले पनि शान्ति र स्थिरता दिन सक्नेछैन । दिनप्रतिदिन राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसन र तस्करीमा डुब्न पुगेको छ । केपी–पिकेले पहिले नै नेकपामाथि फासिवादी दमन गरेर युद्धको ऐलान गरिसकेका छन् भनें भविष्यमा यो प्रक्रिया अझ तीब्र भएर जानेवाला छ ।”

महासचिव विप्लवले एमाले र माकेबीच एकता गरेर बलियो हुने र शासनमा बसेर मोज गर्ने कल्पना नगर्न पनि ओली र दाहाललाई चेतावनी दिएका छन् ।

विज्ञप्तिको पूर्णपाठः

२०७५ जेट ३ गते एमाले र माकेले एकताको घोषणा गरे । उनीहरुले एकता गरेर ऐतिहासिक र अद्भूत कार्य गरेको, नयाँ युगको शुरुआत भएको जनताको आकांक्षा पूरा गरेको, देश शान्ति, समृद्धि, स्थिरता र विकास शुरु हुनेसम्म भन्न भ्याएका छन् । सरकारी र केही विदेशी दानबाट सञ्चालित सुगाहरुले नेपाली कम्युनिस्ट आन्दोलनको नयाँ इतिहास शुरु भएको घोषणा गरे । यसले उनीहरु आफैँलाई असुरक्षा र तनावबाट केही समयका लागि हल्का बनाउन र राहत महसुस गर्न प्रयास गरिरहेका भान हुन्छ । तर गरिबी, उत्पीडन, लुछाचुंडी, अभाव, भ्रष्टाचार, महंगी, राष्ट्रघात र अराजकताबाट हैरान अहिलेको अवस्थामा अवसरवादी पुँजीवादीले अपत्यारिलो देखिने सफलता सम्झेका होलान् । तर यसबाहेक उनीहरुको भाषण जनयुद्ध र जनआन्दोलनको भीषण प्रतिज्ञा र प्रतिबद्धताबाट चिप्लिएर संसदीय व्यवस्थाको फोहाेरी नालीमा मिसिएको अपराधको क्रन्दनबाहेक केही पनि होइन । यहाँ न समृद्धि छ न हुनेवाला नै छ । उनीहरुको यो हर्कत सरासर झुटको अभिव्यक्ति हो । यो उनीहरुको कुनै अवसरवादी कमजोरी पनि होइन । यो त उनीहरु आफ्नै विचार, राजनीति, आदर्शको भारीबाट थिचिएर भागेका नाम कटुवा कम्युनिस्टहरु हुन् । उनीहरुको एकता भनेको क्रान्तिका भगौडा र नाम कटुवा कम्युनिस्टहरुको गठजोड हो । एमाले झापा विद्रोहको वजन र उचाइ थेग्न नसकेर साम्राज्यवादीहरु, संशोधनवादी पुँजीवादीहरुको शरणमा लम्पसार हुन पुगेको भगौडाहरुको झुण्ड हो । माके भर्खरको महान् जनयुद्धको ओज, गरिमालाई मूल्यबोध गर्न नसकेर, शहीदका रगतको टाटा नबस्दै रनाहमा परेर साम्राज्यवादी दलाल संसदवादी पुँजीवादको टाङमुनि टाउको घुसार्न पुगेको कायर भगौडा पार्टी हो । यी दुवै क्रान्ति, बलिदान, शहीद, बेपत्ता तथा घाइते योद्धालाई कहिल्यै नभुल्ने गरी धोका र गद्दारी गर्ने समूहहरु हुन् ।

यी दुवै आफू क्रान्तिकारी हुँदा एकअर्कालाई दुश्मन भन्ने गर्दथे तर आज जब दुवै लुटेरा पुँजीवादी व्यवस्थामा प्रवेश गरेर सामाजिक दलाल पुँजीवादीमा पतन हुन पुगे तब एकअर्काका सुखदुखका साथी, कम्युनिस्ट र कमरेड भन्दै एकताको नाटक रच्न पुगेका छन् । यिनीहरुको एकता कम्युनिस्ट एकता होइन कम्युनिस्ट आदर्शबाट च्युत भएका घोर अवसरवादी संशोधनवादीहरुको एकता हो । उनीहरुको एकता कम्युनिस्टहरुको एकता होइन । क्रान्तिबाट भागेर पुँजीवादको पालेमा पतन भएका संशोधनवादीहरुको गठजोड हो ।

विचार मरेको तुच्छ स्वार्थ बोकेका जनघाती र राष्ट्रघातीहरुको घोर मिलाप मात्र हो । यसलाई अर्को भाषामा टाट पल्टिएको बैंकहरुको होल्डिङ व्यापारी संघको विलयबाहेक अरु भन्न मिल्दैन । शुरु मै दुई पार्टी संघको घोर अवसरवादी संशोधनवादी सिण्डिकेटधारी संरचना बोकेर कही नभएको जात्रा गर्दै दुई अध्यक्ष प्रणाली खडा गरेर कुहिएको पार्टीले के नयाँ प्रणालीको हल्ला गर्ने । यो त कम्युनिस्ट आन्दोलनलाई अँध्यारोतिर धकेल्ने व्यर्थको गठजोड मात्र हो ।

यो एकताको सबै भन्दा भद्दा र कुरुप चित्र भनेको प्रचण्ड माओवादीको सम्पूर्ण रुपले विसर्जन हो । प्रचण्डहरु यो आत्मासमर्पणको खाडलमा जाकिन्छन् भन्ने कुरा पहिला नै देखेको र भनेको पनि हो । हामीले उनीहरुको गडबढीलाई विचलन देखेर नै उनीहरुबाट विद्रोह गरेर क्रान्तिकारी पार्टीको पुनर्गठन गर्ने पहल गरेका हौं । तर पनि सबै नागरिकहरु विशेषतः जनयुद्धमा सहभागिहरु सबैले तत्कालै बुझ्ने गरी प्रचण्डको स्वार्थी, फोहरी र अवसरवादी अनुहार उदांगो भएको छ । किन कि प्रचण्डहरु भित्रभित्र जहिले पनि क्रान्तिकारीहरुलाई तुच्छ र घृणात्मक आरोप गर्ने गर्दथे (जुन कार्य अहिले पनि जारी छ) । आफूहरु जनयुद्धका प्रतिबद्धताबाट पछि नहटेको हल्ला गरिरहे । अब प्रचण्डहरुमा माओवादीको “म” पनि रहेन । उनीहरु प्रतिक्रियावादमा पतन भएको दुश्मनसँग विलय हुन पुगेका छन् । र स्वयंलाई दलाल पुँजीवादी संसदीय व्यवस्थाको पाले र क्रान्तिको बाधकमा पतन गराएका छन् । अब उनीहरुलाई के भन्ने ? विषय गम्भीर छ ।

केपी र पिकेले जतिसुकै शान्ति, स्थिरता र समृद्धिको हावा चलाए पनि त्यो संशोधनवादी सामाजिक दलाल पुँजीवादीहरुको स्याल हुईया मात्र हो । उनीहरु दलाल पुँजीवादमा पुगेका सामाजिक दलाल, दलाल पुँजीवादी व्यवस्था आफैँमा शोषण, दमन र उत्पीडनको अर्को नाम हो र त्यो आफैँमा असाध्यै अस्थितरता र विपत्तिको कारण हो । त्यसैले यो व्यवस्थामा केपी र पिकेको भगवानले पनि शान्ति र स्थिरता दिन सक्नेछैन । दिनप्रतिदिन राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसन र तस्करीमा डुब्न पुगेको छ । केपी–पिकेले पहिले नै नेकपामाथि फासिवादी दमन गरेर युद्धको ऐलान गरिसकेका छन् भनें भविष्यमा यो प्रक्रिया अझ तीब्र भएर जानेवाला छ ।

यसको जवाफ क्रान्तिबाट मात्र दिन सकिन्छ र दिन अनिवार्य छ । अनि केपी–पिकेको शान्ति कताबाट हुन सक्दछ ? बाहिर चारैतिर छरिएको संघर्ष उनीहरुतिर केन्द्रीत भएर जानेवाला छ । उनीहरुले सोच्लान्, बलियो सरकार भएपछि क्रान्तिकारी उग्रवादीहरुलाई दमन गर्न सजिलो हुन्छ । यो उनीहरुको भ्रम र कल्पना मात्र हो । एकलौटी शासन सत्ता हुँदा त पुँजीवादीले नियन्त्रण गर्न सम्भव भएन । अणु बम भएका शक्तिले त क्रान्तिकारीलाई रोक्न सकेनन् ।

साम्राज्यवादी सेनाले त क्रान्तिकारी शक्तिलाई परास्त गर्न सकेन भनें यी संसदवादी, संशोधनवादी, आत्मासमर्पणवादीहरुले सरकार परिवर्तन भयो भन्दैमा क्रान्ति रोकिने र नयाँ युगको शुरु हुन्छ भन्ने कल्पना नगरे हुन्छ । क्रान्ति, बलिदानबाट भागेर प्रतिक्रियावादी सत्तामा गएर क्रान्तिको दमन गर्ने कुरा क्रान्ति गर्नेभन्दा पनि जटिल कुरा हो । वास्तविकता यिनै हुन आगामी दिनहरु भीषण उथलपुथलकारी हुने छनक देखिएको छ ।

एमाले र माकेबीच एकता गरेर बलियो हुने र शासनमा बसेर मोज गर्ने कल्पना गरेका होलान् । हुन पनि सक्छ तर उल्टो हुँदैछ । उनीहरुलाई नजिकबाट बुझ्ने इमानदार क्रान्तिकारीहरुले अवसर प्राप्त गरे । एमालेलाई मात्र होइन, माकेलाई पनि कम्युनिस्ट आन्दोलनबाट पतन गरेर पुँजीवादीहरुको सेवक भएको यथार्थ नाङ्गो आँखाले देख्न पाए । यसले स्वाभाविक रुपबाट सबैतिर रहेका इमान्दार र क्रान्तिकारी कमरेडहरुलाई एकताबद्ध गर्ने र ध्रुवीकृत गर्ने प्रक्रिया निर्णायक मोडतिर पुग्दैछ । आत्मसमर्पणवाद, अवसरवाद, संशोधनवादलाई स्पष्टह रुपमा आफैँले देखेर बुझ्न पाउनु भनेको क्रान्तिकारीहरुलाई नयाँ क्रान्तिका वरिपरि गोलबन्द र ध्रुवीकरण गर्ने अवसर पनि हो ।

बलिदानले उर्जा पैदा गर्छ भनेंजस्तै गद्दारी र विसर्जनले पनि जनक्रान्ति जन्माउने शक्ति पैदा गर्दछ । एमाले र माकेको एकताले क्रान्तिकारीमा नयाँ शक्ति र अवसर पैदा गरेको छ । सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरु, इमानदार कमरेडहरु ढिला नगरी ध्रुवीकृत हुने बेला आएको छ । देशलाई दलाल पुँजीवादीहरुको हातमा रहन नदिने हो भनें, सामाजिक दलाल पुँजीवादीहरुको नियन्त्रणमा जान नदिने हो भनें, यसले भयानक राष्ट्रघात जो मोदी आउँदा केपीले गरे, जनघात जो नेकपाका नेता–कार्यकर्तामाथि दमन गरिएको छ, भ्रष्टाचार गरिएको छ, झन बढ्नेवाला छ ।

जनता भयाङ्कर अभाव, उत्पीडन र दमनमा पर्ने देखिन्छ । तसर्थ, सबैतिर रहेका क्रान्तिकारीहरु माक्र्सवाद–लेनिनवाद–माओवाद र एकीकृत क्रान्तिको मार्गमा गोलबन्द हुन जुटौं । सच्चा क्रान्तिकारीहरुको एकता त्यही प्राप्त हुन्छ । देश र जनताको वास्तविक शान्ति, समृद्धि पनि वैज्ञानिक समाजवादमा मात्र सम्भव छ ।

विप्लव
महासचिव

नेपाल कम्युनिस्ट पार्टी
२०७५ जेठ ४ गते

Loading...