सगरमाथा आधारशिविर सुनसान, मौसम खुलेपछि सबै आरोही उचाइतिर

काठमाडौँ, ३ जेठ । सगरमाथा आधार शिविरमा अनुकूल मौसम बनेपछि आरोहण दलका सबै सदस्य माथिल्लो शिविरतिर प्रस्थान गरेका छन् ।

आधार शिविरमा रहेका पर्यटन विभागका सम्पर्क अधिकृत तिलकराम पाण्डेले आधार शिविरमा आफूहरु मात्रै रहेको राससलाई जानकारी दिए । “आधार शिविर सुनसान भएको छ, सबै आरोही शिखरतर्फ उकालो लागेका छन्, अधिकांश आरोही शिविर तीन र शिविर चारमा रहेका छन्” उनले भने । यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका ३६४ आरोही शिखर चुम्ने अभियानमा छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठकाअनुसार आजसम्म १७६ जनाले सर्वोच्च शिखर चुमेका छन् । उनकाअनुसार गत वैशाख ३० गते डोरी टाँग्ने आँट शेर्पा आरोहीले यस वर्षको पहिलो आरोहण गरेका थिए । आरोहणको दोस्रो दिन सोमबार ३९, तेस्रो दिन मंगलबार भने प्रतिकूल मौसमका कारण आरोहण हुन सकेन ।

यस्तै बुधबार ९४ जना सर्वोच्च शिखरमा पुगेर इतिहास कायम राखे । आज आरोहणको पाँचौँ दिन २५ जना शिखर पुगेका छन् । त्यसमा १३ नेपाली र १२ विदेशी आरोही छन् ।

चढ्ने र ओर्लनेको ताँती

सगरमाथाको शिखर पुगेर फर्कने र चढ्नेको ताँती रहेको छ । सगरमाथाको आधार शिविरभन्दा माथि तेस्रो र चौँथो शिविरमा आरोहणको प्रतीक्षामा छन् । अनुकूल मौसमको प्रतीक्षमा रहेका अधिकांश आरोही एक सातासम्म शिखरमा पुग्नेछन् । आरोहण सम्पन्न गरेका आरोही केही फर्कन थालेका छन् ।

बुधबार कामीरिता शेर्पाले कीर्तिमान कायम गर्नुभएको थियो । उनले सगरमाथाको २२ पटक आरोहण गरेर कीर्तिमान कायम गरेका हुन् । यस्तै पेम्बा दोर्जे शेर्पाले पनि कीर्तिमान कायम गका छन । सन् २००४ मा पेम्बाले आठ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका थिए । पेम्बाले पृथ्वीनारायण शाहको मूर्तिसहित सगरमाथाको आरोहण गर्नुभएको सम्कर्प अधिकृत श्रेष्ठको भनाइ छ ।

अघिल्लो वर्षको वसन्त ऋतुमा ४३ समूहका ३६६ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए । सन् २०१६ मा ३८ वटा समूहका ३०० भन्दाबढी आरोहीले सगरमाथाको चुचुरो चुमेका थिए । गत वर्षहरुमा भन्दा यस वर्ष आरोहण सहज देखिएको छ । आरोहणका क्रममा एक सोलुखुम्बु कुरिमाकाका लामबाबु शेर्पा बेपत्ता हुनुभएको छ । त्यसबाहेक अरु कुनै अप्रिय घटना नभएको सम्पर्क अधिकृत श्रेष्ठको भनाइ छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाए कामीरिता

बाइस पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पाको बारेमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले विशेष समाचार सामग्री प्रस्तुत गरेका छन् ।

यसअघि कामीसहित आप्पा शेर्पा र फुर्वा तासी शेर्पाको नाममा २१ पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम थियो । सोलुखुम्बुका कामीरिताले विश्व कीर्तिमान राखेसँगै विश्वभरका सञ्चार माध्यमको ध्यान उहाँतर्फ केन्द्रित भएको हो । बेलायतको प्रसिद्ध गार्डियनको अनलाइन संस्करणमा ४८ वर्षे कामीरिताले कीर्तिमान कायम राखेको विषयलाई महत्वका साथ प्रचार गरेको छ । सो पत्रिकाको अनलाइन संस्करणमा भनिएको छ, “कामीरिताले २५ पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने लक्ष्य राख्नुभएको छ ।”

चौबीस वर्षको उमेरमा सगरमाथा आरोहण शुरु गर्नुभएका कामीरिताले संसारका अग्ला शिखरको आरोहण गरिसक्नुभएको छ । यसैगरी भारतको हिन्दूस्तान टाइम्स, बेलायको अर्को मिररको अनलाइन संस्करणले पनि कामीरिता र लाक्पाको कीर्तिमानको महत्वका साथ चर्चा गर्दै समाचार सामग्री प्रस्तुत गरेका छन् ।

यसैगरी अमेरिकाको एबीसी न्यूज, वासिङटन टाइम्स, सिकागो सन टाइम्स, पाकिस्तानको पाकिस्तान टुडे, क्यानडाको द स्टारलगायत विश्वप्रसिद्ध सञ्चार माध्यमले सर्वोच्च शिखरको आरोहणको समाचारलाई महत्वका साथ प्रकाशन तथा प्रसारण गरेका छन् । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सर्वोच्च शिखरको आरोहण गरेका थिए । । सगरमाथा आरोहणको ६४ वर्षको अवधिमा करिब आठ हजारले सगरमाथाको शिखर चुमेका छन् । यस्तै आरोहणका क्रममा २८६ जनाको निधन भएको छ ।

Loading...