दुर्इ नम्वर प्रेदशमा दुई मन्त्री र सांसदबीच कोठाभित्र भक्कुमार, मोदीका लागि खर्चेको रकमलार्इ लिएर मारामार

काठमाडौं, ४ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा भएको खर्च र भ्रष्टाचारलाई लिएर प्रदेश २ को सरकार संकटमा परेको छ ।

सत्तारुढ दल राष्ट्रिय जनता पार्टी नेपालले भ्रमणका बेला भएको भ्रष्टाचारको कुरा जोडदार रुपमा उठाएपछि प्रदेशमन्त्रीहरू भौतिक आक्रमणमा उत्रिएका छन् । मन्त्रीहरू नै भ्रष्टाचारमा संलग्न भएपछि संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा रहेको प्रदेश २ को सरकारको भविस्य संकटमा परेको हो ।

जेठ २ गते भूमिसुधार तथा कृषि मन्त्रालयमा बसेको समीक्षा बैठकमा मन्त्री शैलेन्द्र साह र राज्यमन्त्री योगेन्द्र राय यादवले राजपा नेपालकी प्रदेश सांसद एवम् केन्द्रीय प्रवक्ता डा.डिम्पल झामाथि झण्डै हातपात गरेको उच्च स्रोतले जनाएको छ । डा.झा राजपा नेपालको अध्यक्षमण्डलका अध्यक्ष अनिलकुमार झाकी पत्नी पनि हुन् ।

मोदीको भ्रमणका बेला जनपरिचालन समितिको जिम्मेवारी पाएका मन्त्री शैलेन्द्र साहले ३५० बस परिचलान गरेको भन्दै फजुल बिल भरपाई पास गर्न माग गरेका थिए । राजपाकी डा.झाले आफ्नो गृहजिल्ला रौतहटबाट बस नआएको र व्यापक भ्रष्टाचार भएको भन्दै विरोध गरेपछि मन्त्रीद्वय साह र यादवले कुर्सीबाट जुरुक्क उठेर कुट्न नजिकै पुगेको प्रत्यक्षदर्शीको भनाइ छ । त्यसपछि नजिकै रहेका अन्य नेताहरूले मन्त्रीहरूलाई रोकेर छुट्याएका थिए ।

सांसद डा.झाले नागरिक अभिनन्दनमा भएको खर्चको हिसाव–किताव माग्नुका साथै भ्रष्टाचारीहरूलाई हदैसम्मको कारबाहीको जोडदार माग गरेकी छिन् । उनले भ्रष्टाचारविरुद्ध आवाज उठाएपछि संघीय फोरमका सांसद र मन्त्रीहरूको सातो गएको छ । भ्रष्टाचारको विषयलाई संघीय फोरमले लुकाउन खोजेको छ ।

त्यसपछि बैठक कक्षभित्र उपस्थितहरूबीच भनाभन भएको थियो । डा.झाले भ्रष्टाचारको कुरा उठाएपछि प्रदेश सभाको बैठकमा समेत सो विषयले प्रवेश पाएको छ । यसबारेमा प्रदेश २ का सभामुख सरोज यादवले मुख्यमन्त्री लालबाबु राउतलाई भ्रष्टाचारबारेमा जानकारी गराउन रुलिङ गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला मञ्च व्यवस्थापनमा मात्रै १ करोड ६७ लाख खर्च भएको छ । मञ्च व्यवस्थापनको जिम्मेवारी प्रदेश २ का मन्त्री एवम् राजपा नेपालका महामन्त्री जितेन्द्र सोनलले पाएका थिए । मन्त्री सोनलले पनि मञ्च व्यवस्थापनका नाममा लाखौँ रकम भ्रष्टाचार गरेको आरोप उनकै पार्टीका नेताहरूले लगाएका छन् ।

मोदीको नागरिक अभिनन्दन र तयारीका बेला ७ करोड ३० लाख खर्च भएको थियो । यति धेरै पैसा खर्च हुँदा पनि कार्यक्रममा आएका सर्वसाधारलाई शुद्ध पिउने पानी दिइएको थिएन ।

मोदीको नागरिक अभिनन्दनमा भएको भ्रष्टाचारका कारण संघीय फोरमको नेतृत्वमा रहेको वर्तमान सरकार धरापमा परेको एक नेताले बताए । राजपा नेपालको संसदीय दलको बैठकले समेत संघीय फोरमका तर्फबाट मन्त्री बनेका मन्त्री शैलेन्दै साह र राज्यमन्त्री योगेन्द्र राय यादवले डा.डिम्पल झासँग माफी माग्नुपर्ने निर्णय गरेको छ । राजपाको निर्णयले संघीय फोरमलाई अफ्ठ्यारो परेको हो ।

डा.डिम्पल झासँग दुई मन्त्रीले माफी नमागे प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको निर्णय राजपाले गरेको छ ।

यसैबीच, प्रदेश २ का सभामुख सरोज यादवले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिएका छन् । सभामुख यादवले कांग्रेसका रामसरोज यादवलाई विहीबार पत्र लेखेर प्रमुख प्रतिपक्ष दलको मान्यता दिएका हुन् ।

मुख्यमन्त्री राउतले एमालेलाई प्रमुख विपक्षी दलको मान्यता दिन दवाव दिएका थिए । तर, सभामुख यादवले एमालेले सरकारलाई मतदान गरेकाले कांग्रेसलाई प्रतिपक्ष दलको मन्यता दिएको जनाएका छन् ।

Loading...