जनताको सहयोगमा दोर्दीमा १३ सयको उपचार

काठमाडौं, ४ जेठ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जनता बैंकले लमजुङको दोर्दीमा तीनदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न गरको छ । उक्त शिविरमा आँखाको मोतिबिन्दु अप्रेसन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाककानघाँटी र सामान्य चिकित्सासम्बन्धी परीक्षण गरिएको थियो ।

शिविरमा १ हजार २ सय ९५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । त्यसमध्ये ३० जना बिरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेसन गरिएको बैंकले जनाएको छ । त्यस्तै २९ जना महिलालाई पाठेघरसम्बन्धी अपरेसनका लागि अस्पतालमा सिफारिस गरेको थियो । उक्त अपरेसनका लागि जनता बैंकले आर्थिक सहयोग गर्ने जनाएको छ ।

त्यस्तै शिविरमा ५ सयजनाभन्दा बढी आँखाको समस्या भएका व्यक्तिलाई निःशुल्क चस्माका साथै सम्पूर्ण बिरामीहरूलाई आवश्यक औषधि वितरण गरिएको थियो । आँखाको अपरेसन गरेका बिरामीहरूको चौथो दिनमा शिविरमै फलोअप गर्दा सबै बिरामीहरूको अवस्था सामान्य देखिएको बैंकले जनाएको छ ।

स्वास्थ्य शिविरमा नेपाल नेत्रज्योति संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पताल जावलाखेलका चिकित्सक तथा स्वास्थ्यकर्मीले प्राविधिक सेवा प्रदान गरेका थिए ।

Loading...