एकीकृत पार्टी बनेलगत्तै ओली-प्रचण्डलाई लाग्यो यस्तो झट्का

काठमाडौं, ३ जेठ । पुष्पकमल दाहाल प्रचण्ड र केपी ओलीको अध्यक्षतामा एमाले र माओवादी केन्द्रको संयुक्त बैठक बसेको छ । बैठकबाट नयाँ पार्टी नेकपाका सबै सदस्यले सपथ लिएका छन् ।

बैठकले एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता देव गुरुङलाई ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोग पठाएको छ । तर, यो नाम गरेको पार्टी अहिले नै निर्वाचन आयोगमा दर्ता भएकाले समस्या भएको छ ।

नयाँ पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी कुनै पनि हालतमा दर्ता हुन् नसक्ने भएपछि एमाले नेता बामदेव गौतमले ‘नेपाल कम्युनिष्ट पार्टी’ का पछाडि केही थप्ने विकल्प दिएका छन् ।

यसैबीच एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने पार्टीमा ९ सदस्यीय हाइकमाण्ड बनेको छ । उक्त हाइकमाण्ड पार्टी सञ्चालनमा निर्णायक हुनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले हाइकमाण्ड गठन गरेको हो । स्रोतकाअनुसार विष्णु पौडेल महासचिव बन्ने भएका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवक्ता बनाउने तयारी छ ।

हाइकमाण्डमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनेछन् । त्यसपछिको वरियतामा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेल हुनेछन् ।

संगठनको काम गर्ने जिम्मेवारीसहित पौडेललाई महासचिवको जिम्मेवारी दिन लागिएको हो । एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । यस्तै ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ ।

त्यस्तै एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य कायम रहने सहमति भएको छ । त्यस्तै पार्टीको विधानमा जनयुद्ध र विभिन्न कालखण्डमा भएका आन्दोलनलाई समेट्ने विषयमा समेत सहमति जुटेको छ । यस अगाडि एमालेले जनयुद्धुलाई सशस्त्र द्वन्द्वु भन्दै आएको थियो ।

त्यस्तै पार्टीका सिद्धान्त मार्क्सवाद र लेनिनवाद हुनेछ भने जनताको बहुदलीय जनवाद (जबज) र माओवादलाई थाँती राखिएको छ । जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई एउटै विन्दुमा समेट्न जनताको जनवाद राख्ने गरी सहमति जुटेको छ ।

ओली-प्रचण्डलाई झट्का

उता नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको अन्तिम घडीमा २ पार्टीका अध्यक्षहरु केपी ओली र प्रचण्डलाई अर्को झट्का लागेको छ । एकातिर पार्टी एकीकरणसँगै नेता कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गर्दैछन् भने अर्कातिर कर्णाली प्रदेशमा एमाले नेताहरुले स्थायी समितिमा त्यहाँको प्रतिनिधित्व गराउन माग गर्दै घुमाउरो शैलीमा चेतावनी दिएका छन् ।

कर्णाली प्रदेश सहसंयोजक यामलाल कँडेल लयायत केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई निवदेन लेख्दै स्थायी समितिमा कर्णालीको प्रतिनिधित्व मागेका हुन् ।

कँडेलसहित पोलिटब्यूरो सदस्य प्रकाश ज्वाला, केन्द्रीय सदस्य गोरख बोगटी, भैरबसुन्दर श्रेष्ठ, गुलावजंग शाह, मोहन बानियाँ, राजबहादुर बुढा, हंशबहादुर शाही, लक्ष्मीप्रसाद पोखरेल र शेरबहादुर केसी लगायतका नेताहरुले अध्यक्ष ओलीसमक्ष उक्त माग गरेका हुन् ।

एमालेको स्थायी समितिमा रहेका पदेनसहित २६ सदस्यमध्ये २५ जना एकीकृत पार्टीको स्थायी समितिमा स्वतः पर्ने भएपछि कर्णालीका एमाले नेताहरुले आफ्नो प्रतिनिधित्व मागेका हुन् । एमालेको अहिलेको स्थायी समितिमा कर्णाली प्रदेशबाट एकजना पनि नेता छैनन् ।

अब भन्ने पार्टीमा माओवादी पृष्ठभूमिबाट भने कर्णाली प्रदेशका दुई जना नेता स्थायी समितिमा पर्ने भएका छन् । नेता जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत नयाँ पार्टीको स्थायी समितिमा पर्ने पक्का भइसेको छ । अहिलेकै अवस्थामा नयाँ पार्टीमा कर्णाली प्रदेशबाट एमाले पृष्ठभूमिका कोही पनि नेता पर्ने छैनन् ।

यसअघि पनि कर्णालीका एमाले नेताहरुले स्थायी समितिमा प्रतिनिधित्वको माग गर्दै अध्यक्ष ओलीलाई पटक पटक अनुरोध गरेका थिए । तर, अध्यक्ष ओलीले हालसम्म सुनुवाई गरेका छैनन् ।

Loading...