एमाले–माओवादीबीच यसरी भयो भागबन्डा

काठमाडौं, ३ बैसाख । बिहीबार बिहान वाम एकता संयोजन समितिले औपचारिक रुपमा एकताको घोषणा गर्ने तयारी गरिएको छ । मदन आश्रित स्मृति दिवसका अवसर पारेर एकता घोषणा गर्ने दुबै दलका दोस्रो तहका नेताको प्रयासमा बुधबार एकता प्रक्रियाले गति लिएको हो।

सैद्धान्तिक लगायतका केही विषयलाई एकता महाधिवेशनसम्म थाती राखेर एकीकरण हुन लागेको हो। २ पार्टीबीचको एकता संयोजन समितिको बैठक सकिएको छ । बालुवाटारमा सम्पन्न बैठकले पार्टी एकता गर्ने दुई पार्टीबीचको सहमतिलाई अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ।

संयोजन समितिको बैठक सकिएसँगै दुबै दलका अन्तिम बैठक बस्न लागेका छन्। एमालेको आकस्मिक केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बस्न लागेको प्रवक्ता पम्फा भुषालले जानकारी दिइन्। दुबै दलले एकताको प्रस्तावलाई पारित गर्ने छन्। त्यसपछि नेताहरू नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम छ।

माओवादीलाई ४५ प्रतिशत

यसैबीच एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्यीय हुनेछ जसमा प्रतिशत नभने पनि ४५ प्रतिशत माओवादी केन्द्रले पाउने र बाँकी ५५ प्रतिशत एमालेले राख्नेसमेत सहमति भएको छ ।

सहमति अनुसार २०० सदस्य माओवादीको भागमा र २४१ सदस्य एमालेको भागमा पर्ने छन् ।

त्यस्तै पार्टीको स्थायी समितिमा ४३ सदस्य रहने सहमति जुटेको छ । सहमति अनुसार स्थायी समितिमा २५ जना एमालेबाट र १८ जना माओवादी केन्द्रबाट रहने बैठकमा अध्यक्ष ओलीले जानकारी गराएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए ।

चुनाव चिह्न सूर्य

त्यस्तै एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य कायम रहने सहमति भएको छ ।

त्यस्तै पार्टीको विधानमा जनयुद्ध र विभिन्न कालखण्डमा भएका आन्दोलनलाई समेट्ने विषयमा समेत सहमति जुटेको छ । यस अगाडि एमालेले जनयुद्धुलाई सशस्त्र द्वन्द्वु भन्दै आएको थियो ।

त्यस्तै पार्टीका सिद्धान्त मार्क्सवाद र लेनिनवाद हुनेछ भने जनताको बहुदलीय जनवाद (जबज) र माओवादलाई थाँती राखिएको छ । जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई एउटै विन्दुमा समेट्न जनताको जनवाद राख्ने गरी सहमति जुटेको छ ।

यसैबीच एमाले र माओवादी केन्द्रबिच पार्टी एकता हुने भएपछि माओवादी केन्द्रमा बिद्रोह हुन सुरु गरेको छ । माओवादीले एमालेसंग आत्मसमर्पण गरेको भन्दै माओवादी केन्द्रका नेता-कार्यकर्ताले पार्टी परित्याग गरेको बताएका छन्।

माओवादी जनयुद्धकोको मूल मर्म अनुसार नेपाली क्रान्तिलाई अगाडी बढाउनुपर्नेमा माओवादी केन्द्रको नेतृत्व उल्टो संसदीय राजनीतिक भासमा फसेको र एमालेसँग मिलेर शहिदहरुको सपनामाथि खेलवाड गरेको उनीहरुको आरोप छ ।

पार्टी परित्याग गर्नेहरुले माओवादीको मूल नेतृत्व प्रचण्डमा गम्भीर बिचलन आएका कारण माओवादी आन्दोलन छिन्नभिन्न भएको र पार्टीलाई एमालेमा बिलय गराउने निर्णयमा पुगेको उनीहरुको ठहर छ ।

प्रचण्डले घोर दक्षिणपन्थी धारको एमालेसँग पार्टी एकीकरण गरेर नेपाली क्रान्तिको अवसान गर्ने बाटो रोजेको भन्दै उनीहरुले बाँकी रहेको क्रान्तिलाई पुरा गर्न नयाँ पहलकदमी लिने क्रान्तिकारी पार्टीमा आबद्ध हुने उदेश्यले माके परित्याग गरेको पनि बताएका छन्

माके परित्याग गरेका नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। एमाले र माओवादीले पार्टी एकता गर्ने घोषणा गरेको अघिल्लो दिन मात्रै माओवादी केन्द्रका करिब पाँच सय नेता कार्यकर्ताले नेकपामा प्रवेश गरेका हुन् ।

नेकपाको कर्णाली व्यूरोले संचालन गरेको ‘एकीकृत जनजागरण अभियान’को क्रममा कर्णालीका कालिकोट, जुम्ला र मुगुमा अन्य पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेको लहर चलेको हो ।

कालिकोटबाट ३ सय २०, जुम्मामा १८० र मुगुबाट १ सय २३ जनाले नेकपामा प्रवेश गरेका छन् । उनीहरु फाटफुट एमाले, जनमोर्चा, मालेका कार्यकर्ता भएपनि करिब पाँच जति माओवादी केन्द्रका नेता-कार्यकर्ता भएको नेकपा कर्णाली ब्यूरोले जनाएको छ ।

नवप्रवेशीहरूलाई नेकपाका जिल्ला नेताहरुले स्वागत गरेका थिए । उनीहरुले पार्टीका महासचिवले शुभकामना तथा बधाई सन्देश पठाएको समेत बताएका थिए ।

Loading...