माेदी सामु मुख्यमन्त्री लालबाबुले राखेकाे विषयमा प्रदेशसभामा चर्काचर्की

धनुषा, २ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति प्रदेशसभा बैठकमा चर्काचर्की भएको छ ।

मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर मंगलबारको बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यले खुलेर विरोध जनाएका थिए भने मधेश केन्द्रित दल संघीय समाजवादी फोरम र राजपा नेपालले बचाउ गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले प्रदेश २ केन्द्र सरकारको विभेदका कारण पछि परेको र विभेदकारी संविधानका विरुद्ध आफूहरूको संघर्ष जारी रहेको अभिव्यक्ति दिएका थिए ।

बैठकमा संघीय समाजवादी फोरमका रामआशिष यादवले मुख्यमन्त्रीले प्रदेशको गरिमा र जनताको भावनाअनुसार बोलेको भन्दै यसमा टीका टिप्पणी नगर्न आग्रह गरे । उनले मुख्यमन्त्रीको भनाइप्रति भइरहेको टीका टिप्पणी तर्कसंगत नरहेको बताए ।

राजपा नेपालकी डिम्पलकुमारी झाले मुख्यमन्त्रीको अभिव्यक्ति प्रदेश २ को जनताको पक्षमा रहेको बताउँदै यसप्रति टाउको नदुखाउन केन्द्र सरकारलाई आग्रह गरिन् ।

कांग्रेसका शिवचन्द्र चौधरीले मुख्यमन्त्री राउतको अभिव्यक्ति राष्ट्र हीतमा नभएको बताउँदै “गाजल आँखामा लगाउँदा राम्रो देखिन्छ, त्यही गाजल अनुहारमा लगायो भने कालोमोसो हुन्छ,” भने ।

उनले प्रदेशको समस्या विदेशी पाहुनाको अगाडि राख्नु कतिको उचित हो भनेर प्रश्न गरे । कांग्रेसकै शोभा लामाले सार्वजनिक पद धारण गरेका व्यक्तिले अभिव्यक्ति दिदाँ राष्ट्र हीतमा दिनुपर्ने बताए । नेकपा एमालेकी मञ्जु यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन समारोहमा राष्ट्रिय गान किन नबजाएको भनेर प्रश्न गरिन् ।

“भारतीय प्रधानमन्त्री मोदीको यो औपचारिक कार्यक्रम थियो, त्यसमा राष्ट्रिय गान किन बजाइएन, यो कस्को गल्ती हो ?” भनी उनले प्रश्न गरिन् ।

बैठकमा सदस्यहरूले भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणबारे प्रदेशसभामा जानकारी नगराएकोमा सरकारप्रति आक्रोश व्यक्त गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमण तयारी, स्वागत र सत्कारमा लागेको खर्चको हिसाब बुझाउन माग गर्दै उनीहरूले भ्रमणका बेला भएका खर्चको यथार्थ विवरण बुझाउन सरकारसँग माग गरे ।

यसैगरी नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका सदस्यहरूले भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीटमार्फत गरेको आपत्तिजनक अभिव्यक्तिप्रति आपति जनाए ।

Loading...