नेकपाका भक्तपुर सचिव गिरफ्तार, देशव्यापी धरपकडको विरोधमा नेकपाको कडा प्रतिवाद गर्ने चेतावनी

काठमाडाैं, १ जेठ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर जिल्ला सचिव कुशल बोगटीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

काठमाडौंको बागबजारबाट आज मंगलबार दिउसो प्रहरीले गिरफ्तार गरेको जनाएको छ । नेता बोगटीलाई बागबजारबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय टेकु काठमाडौंमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौ टेकुमा बुझ्दा बोगटीका बारेमा कुनै जानकारी नदिने बताइएको माथिबाट कडा निर्देशन गरिएको बुझिएको छ ।

यसैबीच नेकपा माओवादीले दिनदहाडै बजारमा हिडिरहेका बेला अपहरणको शैलीमा बोगटीलाई गिरफ्तार गरिएको भन्दै आपत्ती जनाएको छ । केपी ओली नेतृत्वको सरकारले पछिल्लो समय दमनपूर्ण शैलीमा उत्रन लागेको भन्दै यसले मुलुकमा गृहयुद्ध मच्चिने सम्भावना बढेको नेकपाका एक केन्द्रीय सदस्यले बताए । उनले केपी ओली जवरजस्त युद्धमा देशलाई होमेर आफू चर्चामा आउन यसो गरिरहेको दावी पनि गरे ।

नेकपाका सयौ कार्यकर्ता अहिले देशव्यापी रुपमा गिरफ्तार भएका छन् । नेकपाका काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका सचिवलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । काठमाडौ जिल्ला सेक्रेटरी धिरेन्द्रा उपाध्याय, ललितपुर सेक्रेटरी बिपिन र भक्तपुर सेक्रेटरी कुशललाई फरक फरक ठाउँमा राखिएको छ । त्यसैगरी नेकपाका केही केन्द्रीय सदस्यहरु र जिल्ला तहका नेताहरु पनि थुप्रै पक्राउ परेका छन् । सरकारले आफ्ना नेता तथा कार्यकर्तामाथि व्यापक धरपकड गरेपछि नेकपाले यसको कडा प्रतिवाद हुने चेतावनी दिँदै आएको छ ।

Loading...