मोदीले लगाए अर्को नाकाबन्दी, कच्चापदार्थ रोकेपछि नेपाली सेनाकै उत्पादन बन्द

काठमाडाैं । भारतले गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादनका लागि चाहिने कच्चा पदार्थ नदिएपछि नेपाली सेनाको मकवानपुरस्थित ‘सुनाचरी इमल्सन प्लान्ट’ बन्द भएको छ । कच्चापदार्थ आयात ठप्प भएपछि सरकारको अनुदान तथा सैनिक कल्याणकारी कोष र उद्योग मन्त्रालयको संयुक्त लगानीमा सञ्चालित प्लान्ट धरासायी बनेको हो ।

काठमाडौं–तराई द्रुतमार्ग निर्माणको जिम्मेवारी भारतीय कम्पनीबाट खोसेपछि भारतले विस्फोटक पदार्थ उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ मागअनुसार नदिएको स्रोतको दावी छ । द्रुतमार्ग र अन्य सडक परियोजना निर्माणका लागि मात्रै वार्षिक सयौं टन विस्फोटक पदार्थ आवश्यक पर्छ ।

कच्चापदार्थ मागअनुसार नदिएकोबारे सेनाले औपचारिक धारणा भने बाहिर ल्याएको छैन । प्लान्ट सञ्चालनार्थ उपकरण खरिद गर्न केही महिनाअघि मात्रै अर्थ मन्त्रालयले जंगी अड्डाका नाममा १ अर्ब ५० करोड रुपैयाँ भुक्तानी दिइसकेको छ ।

कोषले २४ करोड २५ लाख ९२ हजार रुपैयाँ लागतमा खोलेको सुनाचरी इमल्सन प्लान्टबाट पहिलोपटक २०५९ जेठ ८ गते बम, गोलीगठ्ठा तथा अन्य विस्फोटक पदार्थ परीक्षण उत्पादन गरिएको थियो । उक्त प्लान्टमा उद्योग मन्त्रालयले १५ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ । केही महिना अघि सरकारले दिएको डेढ अर्व समेत जोड्ने हो भने प्लान्टमा सरकारी लगानी करिव २ अर्ब पुगिसकेको छ । तर, कच्चापदार्थ आयातमा भारतको अवरोध कायम रहे उक्त लगानीअनुसार प्रतिफल आउनेमा सेनाकै अधिकारीले आशंका व्यक्त गरे । सेनाका एक उच्च अधिकारीले तयारी अवस्थाको गोलीगठ्ठा तथा विस्फोटक पदार्थ किन्न सेनालाई बाध्य पार्ने नियत अन्तर्गत भारतले माग अनुसार कच्चापदार्थ नदिएको बताए ।

“हामी कच्चा पदार्थ ल्याएर स्वदेशमै अत्याधुनिक उपकरण मार्फत गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन गर्ने योजनामा छौं,” सेनाका एक जर्नेलले भने, “तर हाम्रो योजनालाई भातले कच्चापदार्थ सहजै नदिएर व्यवधान खडा गरेको छ ।”

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले पनि कच्चापदार्थ अभावमा इमल्सन प्लान्ट सञ्चालन नभएको बताए । प्रवक्ता भण्डारीले भने, “पहिले विनासकारी भूकम्पले उत्पादनमा अवरोध पुगेको थियो, पछि कच्चापदार्थको पनि अभाव भएपछि अहिले इमल्सन प्लान्ट सञ्चालन गर्न सकिएको छैन ।”

भारतले मागअनुसार किन कच्चापदार्थ नदिएको भन्ने प्रश्नमा प्रवक्ता भण्डारी खुल्न चाहेनन् । उनले भने, “कच्चा पदार्थ अभावमा प्लान्ट सञ्चालन गर्न नसकिएको हो, यसबारे थप केही नबोलौं ।” उक्त प्लान्ट अहिलेसम्म ‘सिंगललबेस प्रोपेलेन्ट प्लान्ट’ बाट मात्रै सञ्चालनमा छ । अव माग अनुसार कच्चापदार्थ आयात र डवलबेस उपकरण खरिद गरेर यसको क्षमता बढाउने सेनाको तयारी रहेको बताइन्छ ।

२०७२ मंसिर २९ गते व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिमा समेत प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पूर्ण क्षमतामा सुनाचरी इमल्सन प्लान्ट सञ्चालन गर्न सके वारुद÷विस्फोटक पदार्थ, ग्रिनेड लगायत सामग्री तथा स्मल आम्र्सका गोलीगठ्ठामा सेना आत्मनिर्भर बन्न सकिने धारणा राखेका थिए । स्मल आम्र्सका लागि चाहिने ८० प्रतिशत घातक सामग्री सेना आफैले उत्पादन गर्छ । ठूला हातहतियारमा लाग्ने गोलीगठ्ठा भने विदेशबाट खरिद हुँदै आएको छ ।

Loading...