अस्ताए नेपाली फुटबलका मणी, स्तब्ध बन्यो खेल जगत

काठमाडौं, १ जेठ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणी विक्रम शाहको ५१ वर्षको उमेरमा निधन भएको छ ।

कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनी आइतबार ज्वरोको समस्या देखिनु अघि घरमै आराम गरिरहेका थिए ।

वि.सं. २०२४ साल असार १५ गते आमा स्वर्गीय रेखा शाहको गर्भबाट जन्मिएका हुन् मणीका बुवा स्वर्गीय लक्ष्मणबिक्रम शाह पनि खेलाडी नै थिए ।

एथ्लेटिक्स, फुटबल र ज्याभलिङ थ्रोका खेलाडी बुवाको सन्तान भएकाले मणी सानो छँदादेखि नै घरमा खेलको वातावरण थियो । बुवाकै प्रेरणाले खेलमा लागेका थिए ।

१३ वर्षकै उमेरमा उनले बैंककमा पि्रन्सेस कप खेल्न जान पाएका थिए । त्यसपछिको दुई वर्ष पनि उनी बैंकक गए । सानो बेलादेखि नै उनमा उत्कृष्ट खेल क्षमता थियो । जहाँ जहाँ खेल्न जान्थे सबैलाई प्रभावित पारेर र्फकन्थे ।

अभूतपूर्व प्रतिभा

उपचारका क्रममा निधन भएका मणि शाह नेपाली फुटबलकै अभूतपूर्व प्रतिभा हुन् । उनीजस्तो मिडफिल्डर अहिलेसम्म नेपाली फुटबलले पाएको छैन भन्दछन् नेपाली फुटबल विश्लेषकहरु । उनी अहिलेसम्मकै उत्कृष्ट प्लेमेकर हुन् ।

मणिसँग बल ड्रिबिङ, पेनाल्टी एरियाबाट फिनिसिङका लागि माहिर र विपक्षीलाई कन्ट्रोलमा राख्न सक्ने खुबीको प्रशंसा अहिले पनि हुने गर्छ । सायद त्यसैले होला उनलाई समकालीन महान अर्जेन्टिनी खेलाडी डिएगो म्याराडोनासँग तुलना गरिएको थियो ।

फुटबल विश्लेषक सञ्जीव मिश्र मणि शाहलाई दक्षिण एसियाली भन्दा उपल्लो दर्जाको खेलाडीको रुपमा मान्छन् । ‘उनी नेपालले पाएको अहिलेसम्मकै शानदार फुटबलर हुन् । मैदानभित्र उनी जसरी खेल्थे त्यस्तो खेल अहिलेसम्म मैले अरु नेपाली फुटबलरमा देखेको छैन ।’ मिश्रले भने ।

नेपालले १९८१ मा फिफा र एएफसीको सदस्यता पाएपछि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउन थालेको हो । सन् १९८३ मा थाइल्याण्डको बैंककमा भएको यू–१३ प्रिन्सेस कपमा नेपाली राष्ट्रिय टोलीबाट उनले प्रतिनिधित्व गरेका हुन् ।

१९८३ मा थाइल्याण्डको बैंककमा भएको यू–१३ प्रिन्सेस कपमा राष्ट्रिय टोलीबाट पर्नुअघि मणि शाहले १३ वर्षको उमेरमै ठमेल–११ क्लवबाट बी डिभिजन लिग खेलेका थिए ।

प्रिन्सेस कप खेलेर फर्किएपछि उनी मनाङ मर्स्याङदी क्लबमा आबद्ध भए । थ्रीस्टारसँगको झगडामा ठमेल–११ प्रतिबन्धमा परेपछि खोलिएको मनाङले डी, सी, बी जितेर ए डिभिजनमा आएको पहिलो सिजनमै च्याम्पियन बनाउन शाहको योगदान उल्लेख्य थियो । त्यसको २ वर्षपछि नै शाहले १७ वर्षको उमेरमा नेपाली राष्ट्रिय टोलीमा परेका हुन् ।

सन् १९९३ को साग गेम्स अन्तर्गत फुटबलमा गरेको प्रदर्शनले उनलाई राष्ट्रिय हिरो बनाइदियो । समूह चरणमा घरेलु टोली बंगलादेश र फाइनलमा भारतलाई पेनाल्टीमा हराउँदा मणि शाहको योगदान उल्लेख्य थियो । फाइनलमा भारतविरुद्ध अन्तिम सेकेण्डमा बराबरी गोल र पेनाल्टीमा अविस्मरणीय ५–४ को जित निकाल्दा मणि शाह नेपाली हिरो बनेका थिए ।

उनले सन् १९९८ को बैंकक एशियाडमा नेपालको झण्डा बोक्ने सौभाग्य पाएका थिए । फुटबलबाट एशियाली खेलकुदमा झण्डा बोक्ने उनी एक्ला हुन् । मिडफिल्ड र स्ट्राइकर दुवै पोजिसनमा फिट हुने उनलाई प्रशिक्षकले आवश्यकता अनुसार खेलाउँथे ।

अभूतपूर्व प्रतिभा मणीको निधनले सिङ्गो नेपानी खेल जगत स्तब्ध बनेको छ । शाहको निधनमा अखिल नेपाल फुटबल संघ एन्फाले शोक व्यक्त गरेको छ । एन्फा महासचिव तुलाधरले उनको निधनले नेपाली फुटबलमा अपुरणीय क्षति भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार बिहान नौ बजेदेखि ११ बजेसम्म शाहको पार्थीव शरीरलाई अन्तिम श्रदाञ्जलीका लागि दशरथ रंगशालामा राखिने अखिल नेपाल फुटबल संघ(एन्फा) ले जनाएको छ । त्यसपछि पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने एन्फाले जनाएको छ ।

Loading...