रक्सौल–अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोल र हवाइ इन्धन ढुवानी गर्न कठिन

काठमाडाैं, ३१ बैशाख । नेपालमा पेट्रोलियम पदार्थ आयातका लागि निर्माण हुन लागेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेलमात्र ढुवानी गर्न सकिने देखिएको छ । प्राविधिक रूपमा अन्य पेट्रोलियम पदार्थ ढुवानी गर्न कठिन भएपछि डिजेलमात्र ढुवानी गर्न लागिएको हो ।

यसअघि डिजेल, पेट्रोल र हवाई इन्धन पाइपलाइनबाट ढुवानी गर्ने भनिए पनि प्राविधिक रूपमा समस्या देखिएकाले डिजेलमात्र ल्याउन सकिने नेपाल आयल निगमले बताएको छ । निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले पाइपलाइनबाट सबै पेट्रोलियम पदार्थ ढुवानी गर्न प्राविधिक रूपमा समस्या देखिएकाले डिजेल मात्र ल्याउने तयारी गरिएको बताए ।

“एउटा प्रडक्ट पाइपलाइनबाट ढुवानी गर्दा साथ बीचमा सफा गर्न मटीतेल अनिवार्य पठाउनुपर्छ,” कार्यकारी निर्देशक भट्टराईले भने, “यसले गर्दा मटीतेलको आयात धेरै हुने र बजारमा माग न्यून रहेकाले पनि डिजेलमात्र ढुवानी गर्नुको विकल्प छैन ।” डिजेल, पेट्रोल र हवाई इन्धन पाइपलाइनबाट ढुवानी गर्दा बीच–बीचमा छुट्याउनका लागि मटीतेल आयात गर्नुपर्ने भएकाले मटीतेलको आयात धेरै हुने उनको भनाइ छ ।

डिजेल आयात गर्दा बीचमा मटीतेल, पेट्रोल आयात गर्दा पुन मटीतेल र हवाई इन्धन आयात गर्दा पनि बीचमा मटीतेल आयात गर्नुपर्ने देखिएकाले पनि पाइपलाइनबाट डिजेल मात्र ढुवानी गर्न सकिने उनको भनाइ छ । डिजेलको खपत अत्यधिक बढेपछि आपूर्तिको अवस्था सहज बनाउन डिजेल मात्रै ढुवानी गर्न लागिएको हो ।

बजारमा कुल इन्धन खपतको ७० प्रतिशत डिजेलको खपत हुने गर्छ । डिजेलको खपत दिनप्रतिदिन बढ्दै गएकाले पनि ७५ प्रतिशत पाइपलाइनबाट आयात गर्दा बजारको माग धान्न सकिने भट्टराईको भनाइ छ । डिजेल मासिक १ लाख ५० हजार किलोलिटर, पेट्रोल ४० हजार किलोलिटर, र हवाई इन्धन १८ हजार किलोलिटर खपत हुनेगर्छ । पाइपलाइनबाट घन्टामा ३ सय किलोलिटर डिजेल ढुवानी गर्न सकिन्छ । दिनमा आठ घन्टा ढुवानी गर्दा २४ सय किलोलिटर ढुवानी गर्न सकिने निगमको भनाइ छ । पाइपलाइनबाट ढुवानी गरेको डिजेल अमलेखगन्जमा भन्डारण गरिन्छ ।

अमलेखगन्जमा डिजेल १९ हजार आठ सय र आठ हजार पेट्रोल भन्डारण गर्ने क्षमता छ । ८ हजार किलोलिटर पेट्रोल र १० हजार किलोलिटर डिजेल भन्डारण क्षमता थप बढाउनुपर्ने निगमको भनाइ छ । पाइपलाइनबाट ढुवानी गरेको डिजेल, काठमाडौं, अमलेखगन्ज, पोखरा, वीरगन्ज, जनकपुर लगायतका जिल्लामा वितरण गरिने निगमको भनाई छ । निगमका अनुसार वार्षिक रूपमा डिजेल खपत २० प्रतिशत, पेट्रोल १२ देखि १५ , हवाई इन्धन १० र खाना पकाउने एलपीजी ग्यास १५ प्रतिशतका दरले बढ्दै गएको छ ।

सीमा क्षेत्रको तुलनामा नेपालमा इन्धनको मुल्य सस्तो भएपछि तराइमा डिजेलको माग ह्वात्तै बढेको छ । निगमको तथ्यांकअनुसार प्रतिलिटर पेट्रोल २१ रुपैयाँ ९२ पैसा र डिजेल २४ रुपैयाँ ६१ पैसा सस्तो छ । भारतीय मालबाहक सवारी साधनहरू नेपालबाटै इन्धन भरेर जाने गर्छन् ।

नेपालमा सस्तो हुँदा भारतीय सवारीहरू पनि इन्धन भर्न आउने गरेका हुन् । बजारमा मटीतेलको माग १ हजार ५ सय किलोलिटरमात्र भएकाले पनि पाइपलाइनबाट डिजेलमात्र ढुवानी गर्न उपयुक्त रहेको निगमको भनाइ छ । पाइपलाइनबाट डिजेलमात्र आयात हुँदा गुणस्तरीय हुने निगमको दाबी छ । निगमका अनुसार हाल डिजेलको दैनिक मााग ५५ सय किलोलिटर छ । पाइपलाइन १० इन्च मात्रै भएकाले दैनिक १२-१५ घन्टा चलाँउदा पनि ८५ प्रतिशत मात्रै डिजेल आयात गर्न सकिन्छ ।

Loading...