ठूलो हुरी र बतासमा परी ३९ जनाको मृत्यु

काठमाडाैं, ३१ बैशाख । तीब्र गतिको हुरी बतासका कारण भारतमा कम्तिमा ३९ जनाको ज्यान गएको छ । अाइतबार साँझपख अाएकाे हुरीमा परी ठूलाे जनधनकाे क्षति पुगेकाे बताइएकाे छ ।

हुरीबतासले सबैभन्दा बढी क्षति भारतकाे उत्तरप्रदेशमा पुर्याएकाे छ । उत्तर प्रदेशमा मात्र १६ जनाको ज्यान गएको छ । त्यस्तै आन्ध्र प्रदेशमा १२ जनाकाे ज्यान गएकाे छ । पश्चिम बंगालमा ९ जनाकाे ज्यान गएकाे छ भने दिल्लीमा २ जनाको ज्यान गएको पुष्टि भएको छ ।

दिल्ली तथा त्यसवरपरको क्षेत्रमा १०९ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो । हुरीका कारण धेरै रुख तथा बिजुलीका पोल ढलेका छन् । हुरीका कारण यातायात सेवा प्रभावित भएको छ । यस्तै दिल्लीको मेट्रो तथा हवाई सेवामा पनि असर परेको छ ।

उत्तर प्रदेशमा ३० जना भन्दा धेरै घाइते भएको त्यहाँका अधिकारीले बताएको बिबिसी हिन्दीले उल्लेख गरेको छ । आन्ध्र प्रदेशका अधिकारीले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बताएका छन् ।

पश्चिम बंगलामा पाँच बालबालिकासहित ९ जनाको ज्यान गएको पुष्टि भएको छ । अहिले उद्धार, राहत तथा भत्किएका संरचना हटाउने काम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

Loading...